
काठमाडौं । फिल्म ‘अञ्जिला’ चैत १६ गते शनिबार (२९ मार्च)देखि १६ अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने भएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ ।
यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज हुनेछ । अस्ट्रेलियामा रिलिजको टुङ्गो लगभग अन्तिम चरणमा रहेको निर्माता प्रेमकुमार श्रेष्ठले बताउनुभयो ।
निर्देशक मिलन चाम्सले फिल्मको अस्ट्रेलिया र बेलायतको प्रदर्शन मिति तय हुन बाँकी रहेको बताउनुभयो ।
अहिले नेपालमा प्रदर्शन भैरहेको फिल्मले १२ दिन सोमबारसम्म देशब्यापी ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । अन्तर्राष्ट्रिय राइट बिक्रीबापत फिल्मले साढे २ करोड आम्दानी गरेको छ ।
यो फिल्म नेपालमा भने फागु पर्वको अवसरमा २९ फागुनमा नेपालमा रिलिज भएको थियो ।
अमेरिकामा सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीले रिलिज गर्ने र क्यानडामा आगन इभेन्ट्स तथा आइ र यु इन्टरटेनमेन्टले रिलिज गर्दैछन्।
त्यस्तै, जापानमा युएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले रिलिज गर्दैछन्।
मिलन चाम्सको निर्देशमा बनेको यो चलचित्रलाई प्रेमकुमार श्रेष्ठले निर्माण रहेको यस चलचित्रमा कलाकार समेत श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुनुहुन्छ ।
शीर्ष भूमिकामा एन्जिलाको नै अभिनय रहेको चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाउनुभएको छ ।
सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाउनुभएको छ । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।