व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा) तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ ।
तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गर्नुभएको छ । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षासँगै सीप अभिवृद्धि गरेर मात्र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। सीपमूलक तालिमहरूले युवा तथा महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्छन् ।”

गण्डकी प्रदेश सरकारले व्यवसायिक सीप विकासलाई विशेष प्राथमिकता दिँदै आएको भनाई उहाँको छ । मन्त्री थापाले प्रदेश सरकार स्वरोजगारमुखी कार्यक्रमहरू ल्याएर युवालाई सीपयुक्त बनाउने योजनामा रहेको जानकारी गराउनुभयो । सीप सिकाएर युवाहरुलाई दक्ष बनाउन प्रदेश सरकारले लगानी गरिरहेको उहाँले बताउनुभयो ।
तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले व्यावसायिक सीप विकास तालिम केन्द्र पोखराले निशुल्क रुपमा तालिमहरु उपलब्ध गराउँदै आएको जानकारी गराउनुभयो । प्रत्येक तालिममा दक्ष प्रशिक्षकहरू परिचालित गरिएको छ भने सहभागीहरूलाई आवश्यक उपकरण तथा तालिम सामग्री पनि प्रदान गरिने उहाँले बताउनुभयो ।

तालिमहरू विशेष गरी युवाहरू, बेरोजगार, महिला, दलित, विपन्न तथा पछाडि परेका समुदायका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएका छन् । तालिम पश्चात सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ, जसले उहाँहरूको रोजगार र उद्यमशीलतामा योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै तालिम केन्द्रका सूचना अधिकारी विनोद रेग्मीले १९ वटा तालिमको सूचना निकालेकोमा आजबाट ९ वटा तालिम संचालनमा आएको जानकारी गराउनुभयो । ५ सय भन्दा माथि आवेदन परेकोमा १ सय ८० जना अहिले छनोट भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश ढुुंगाना, तालिम केन्द्रका प्रतिनिधिहरू, प्रशिक्षक तथा सहभागीहरूको उपस्थिति थियो । सहभागीहरूले यस्ता तालिमहरूले भविष्यमा स्वरोजगार बन्ने अवसर दिने बताएका छन् ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला