
पोखरा । नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले शुक्रबार कार्यक्रम सम्पन्न गरेको छ । कलेजका स्नातक तह द्धितीय वर्षका विद्याथीहरुको आयोजनामा भएको कार्यक्रममा प्रथम वर्षमा अध्ययनरतलाई स्वागत गरिएको थियो ।
लेकसिटीले स्नातक तहमा बिबिएस, बिएएसडब्लु (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य विषयमा पठनपाठन गर्दै आएको छ ।
कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विश्वविद्यालय शिक्षाका लागि पहिलो खुड्किलाको रुपमा लेकसिटीलाई रोजेको भन्दै विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो । उच्च शिक्षाको यात्रा प्रारम्भ गरेसँगै विद्यार्थीहरुले केही महत्वपूर्ण कुराहरु स्मरण गर्नु पर्ने अध्यक्ष प्रा. डा. पराजुलीको भनाइ थियो । “अब लेकसिटी कलेजमा तपाईहरु नयाँ अवसर, चुनौति र सफलतासँग भरिएको यात्रामा प्रवेश गर्दै हुुनुहुन्छ”,उहाँले भन्नुभयो ।
विश्वविद्यालय शिक्षा धेरै सफल मान्छेहरुको जीवन परिवर्तन गर्न कोशेढुंगाको रुपमा रहेको उहाँको भनाइ थियो । धेरैले आफ्ना लक्ष्य र उद्देश्यको पहिचान विश्वविद्यालयबाट गरेको भन्दै विद्यार्थीहरु केवल प्रमाणपत्र प्राप्त गर्ने कुरामा मात्र सिमित नभइ परिचय निमार्ण र सिप विकासमा पनि केन्द्रित हुन उहाँले सुझाव दिनुभयो ।
पश्चिमाञ्चल फाउण्डेशनका अध्यक्ष प्रा. डा. रामनाथ ओझाले लेकसिटी कलेज स्थापनाको क्षण स्मरण गर्दै अहिले यो पोखराको नमुना शैक्षिक संस्थाको रुपमा विकास हुन सकेको बताउन्भयो । कलेजमा विद्यार्थीहरुको भर्ना, शैक्षिक गतिविधि र परिणामले समयसापेक्ष शिक्षा दिन लेकसिटी सफल रहेको विश्वास फाउण्डेशनका अध्यक्ष प्रा. डा. ओझाले व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा क्याम्पस प्रमूख नारायण श्रेष्ठले वार्षिक रुपमा सम्पन्न विभिन्न गतिविधि बारे प्रकाश पार्नुभएको थियो । क्याम्पस प्रमूख श्रेष्ठले विगतमा भर्ना भएका विद्यार्थीहरु जस्तै नयाँ विद्यार्थीहरु पनि शैक्षिक र अतिरिक्त गतिविधिहरुमा सक्रिय रहेको जानकारी दिनुभयो । कलेजको हरेक गतिविधिलाई अगाडि बढाउन विद्यार्थीको सक्रियताले प्रमूख भूमिका खेल्ने भएकाले प्रशासन नयाँ सोच अनुरुप क्रियाशील भइरहेको उहाँको भनाइ थियो ।
सहायक क्याम्पस प्रमूख शोभकान्त सिग्देलले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरुलाई अनुशासित भएर कलेजका सबै कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको थियो ।
कलेजका विद्यार्थी विज्ञानराज सुवेदीको सभापतित्वमा कार्यक्रम भएको थियो । विद्यार्थीद्धय सुमिना पुन र ओसिन बरालले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिका रुपमा गायन, नृत्य र हास्यव्यंग्य पस्केका थिए ।
कलेजले आयोजना गरेको स्पोपर्टस् मिटका विजयी खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा शिक्षक र विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
कलेजका शिक्षकहरु शुरेशराज ढकाल, रोशिना कुँवर र सुशन थापालाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।
त्यसैगरी शिक्षक विष्णुप्रसाद अधिकारी र उहाँकी धर्मपत्नी कल्पना आचार्य अधिकारीलाई मायाको चिनो र दोसल्ला सहित सम्मान गरियो ।
त्रिविविको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विए र विविएस चौथो वर्षका विद्यार्थीद्धय सुजता ढकाल र विक्रम थारुलाई विद्यार्थी सम्मानद्धारा सम्मान गरिएको थियो ।
त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो । हाल कलेजमा ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विधार्थीहरुलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
लेकसिटीमा रहेको सामाजिक विज्ञान केन्द्रले मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।