
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार पर्यटकीय नगरी पोखरा स्थित सराङकोट धामको उद्घाटन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सराङकोटको टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवम् त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गर्नुभयो ।
राष्ट्रपति पौडेलले पोखराको सिरान सराङकोट, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउँदै यसले समग्र पोखरा, गण्डकी प्रदेश तथा नेपालमै पनि पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान दिने बताउनुभयो ।
उहाँले आँखै अगाडि देखिने हिमश्रृङखला हेर्न मात्रै होइन, सुर्योदय र सुर्यआस्त तथा पोखरालाई नजिकबाट नियाल्न पनि सराङकोट पुग्नैपर्ने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले सराङकोट धामको एकीकृत विकासमा जोड दिँदै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको बताउनुभयो । उहाँले असल जीवनका लागि मानिसले भौतिक विकासका अलवा आध्यात्मिक मार्गलाई पनि अनुशरण गर्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटन विकासमा गण्डकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दैै राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन हुनु प्रदेशकै लागि गौरवको विषय भएको बताउनुभयो ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोटलाई पोखरा दृष्यावलोकन स्थल बताउनुभयो । उहाँले पर्यटन राजधानी घोषणासँगै पोखरा थप लोकप्रिय बन्दै गएको चर्चा गर्दै त्यस यता विकास साझेदार संस्थाहरुको पनि प्राथमिकतामा पोखरा पर्दै गएको बताउनुभयो ।
त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना लगायतले सराङकोटको महत्वमाथि धारणा राख्नुभयो ।
कार्यक्रमका बीच सराङकोटको स्तरउन्नतीमा महत्वपूर्ण योगदान र्पुयाउने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भागवत् भाष्कर पण्डित कमलनयन गौतम, रियल स्टेट प्रा.लिका अध्यक्ष कालु गुरुङ, सूर्यप्रेम बहुउद्देश्यीय समाज सेवा ट्रष्ट, संस्थापक अध्यक्ष स्वः लोकबहादुर थापा, इञ्जिनियरद्वय गंगासागर प्रजापति र विश्वदिप शर्मा, हिलटेक कम्पनीका कमल जैन, गुरुयोजना निर्माण संयोजक पशुपति सुवेदी तथा अन्नपूर्ण केबलकारका महाप्रवन्धक दिनेश पौडेललाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ ।
हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् ।
ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।
सराङकोट टपमा सडकका अलवा पोखरा स्थित सेदीबाट अन्नपूर्ण केवलबार मार्फत पनि पुग्न सकिन्छ ।
फोटो/भिडियो : अभिनन्दन बजिमय