लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ ।
हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो ।
महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटिक बनाउनेसम्मको भिड लाग्ने गरेको छ ।
उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्नुहुन्छ बुद्धको प्रतिमाले महोत्सवमा दर्शकहरुको ध्यान तान्न त सफल भएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ ।
झण्डै ३ लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमा नै निर्माण भएको उक्त प्रतिमा महोत्सव पश्चात लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जानकारी दिएको छ । यसले लेखनाथ क्षेत्रको धर्मिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ ।
विहिबारबाट शुरु भएको महोत्सवको दोश्रो दिन शुक्रबार १० हजार दर्शकहरुले अवलोकन गरेका छन भने र ३० लाख बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिनुभयो ।
शुक्रबार महिला÷आमा समुहका विच भएको हाजिरी जवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समुह सेमिफाईनल चरणमा प्रवेश गरेको छ भने विद्यालयस्तरीय नृत्यतर्फ ३ वटा विद्यालयले प्रस्तुती राखेका छन ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।