
पोखरा । तेह्रौं संस्करणको पोखरा महोत्सव हुने भएको छ ।युनाईटेड क्लब पोखराको आयोजनामा यही पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको हो ।
क्लबले यस महोत्सवकै आम्दानिबाट शिक्षाको क्षेत्रमा पोखरा र आसपासका १८ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना एंव शैक्षिक सामाग्री वितरण, स्वास्थ्य क्षेत्रमा लक्षित गरी निस्शुल्क स्वास्थ्य शिविर संचालन लगायत खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यस तेह्रौं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड छात्राबास निर्माणको लागि अगाडी बढ्ने समेत क्लबले बताएको छ ।
पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका वालवालिकालाई लक्षित गरी युनाईटेड छात्राबास निर्माणका लागि हालै शिलान्यास कार्यक्रम सम्पन्न भइसकेको र डिपीयार अनुरुप निर्माण कार्य अगाडी बढेको महोत्सव प्रचार प्रसार संयोजक तथा दिनेश सुनारले जानकारी दिनुभएको छ ।
युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उप( समिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणमा समेत काम गर्ने उद्देश्यले अगाडी बढिरहेको र त्यसका लागि पोखरा महानगरसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
महोत्सव बाहेक युनाईटेड क्लबले नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी त्यसबाट बचत भएको रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरी विपदका घटनाबाट प्रभावितहरुलाई सहयोग गर्दै आएको क्वलले जनाएको छ ।
१२ दिन सम्म सञ्चालन हुने उक्त महोत्सवमा २५० स्टल रहने र महोत्सवको सम्पूर्ण स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको आयोजकले जनाएको छ ।
महोत्सवमा २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरेको आयोजकले जनाएको छ ।
त्यसैगरी महोत्सवबाट १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भइ २८ लाख १५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी दिने पनि जनाएको छ ।