निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्र सँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताउनुभएको छ । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उहाँले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गर्नुभयो ।

चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा स्वास्थ्यमन्त्री पाठकले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताउनुभयो ।

‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको दायित्व हो ।’ उहाँले भन्नुभयो – ‘दक्ष युवा शक्तिलाई स्वदेशमै व्यवस्थापन गरेर विदेश पलायन रोक्न नीतिगत सुधारको आवश्यकता छ । आत्मसम्मानसहितको व्यवस्थापन युवाहरुको माग हो भन्ने कुरा राज्यले बुझ्नुपर्दछ ।’

युवा विद्यार्थीहरुले पनि राष्ट्रिय भावनालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँद भन्नुभयो – ‘विदेश पलायन हुने हैन । स्वदेशमै अवसरको सिर्जना गर्नुपर्दछ भन्ने सोचाईका साथ अगाडि बढ्नुपर्दछ । शिक्षा र सीप सिकेर फर्किएर आफ्नै माटोमा सेवा गर्नुपर्दछ ।’

गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवधिक योजनाका साथ अगाडि बढेको स्मरण गर्दै पाठकले नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा गतिलै सुधार गर्ने उद्देश्यका साथ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गरेको पनि बताउनुभयो ।

चरक हस्पिटलका प्रबन्ध निर्देशक तथा इस्टिच्यूटका अध्यक्ष कपिल पोखरेलले भौतिक पूर्वाधार सम्पन्न शिक्षामैत्री वातावरणमा विगत लामो समयदेखि प्राविधिक शिक्षा नर्सिङ, एचए र फार्मेसी विषय अध्यापन गराइरहेको यस इन्स्टिच्यूट यस क्षेत्रमै अब्बल शैक्षिक संस्था रहेको उल्लेख गर्नुभयो ।

नर्सिङ प्रवेश परीक्षाका टपरले नै यस इन्स्टिच्यूट छनौट गरेको जनाउँदै उहाँले सरकारले भने निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै पनि राम्रो नरहेको गुनासो गर्नुभयो ।

कलेज प्रिन्सिपल केशवराज अधिकारीले गुणस्तरीय शिक्षाका लागि यस इन्स्टिच्युट अग्रणी स्थानमा रहेको दाबी गर्दै यहाँबाट उत्पादित विद्यार्थीले लोकसेवा लगायतका परीक्षामा उत्कृष्ट स्थान प्राप्त गरेको बताउनुभयो ।

सो अवसरमा २१ औं ब्याचमा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १८ औं ब्याचमा भर्ना भएका विद्यार्थीलाई बिदाई गरिएको थियो । विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति पनि राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला