
पोखरा । गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीलाई पत्र काट्न निर्देशन दिनुभएको छ । मंगलबार निरीक्षणको क्रममा पूर्वाधार विकास निर्देशनालय पुगेका मन्त्री केसीले पूर्वाधार निर्माण अलपत्र पारेकालाई पत्र काट्न निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठलाई निर्देशन दिनुभएको हो ।
‘सडक, पुल नबनेर जनताले दुःख पाएका छन् । मोबिलाइजेसनको पैसा लगेर काम नगर्नेको खोजी गर्नपर्छ । मौखिक रुपमा सम्झाएर भएन भने पत्र नै काट्नू,’ उहाँले भन्नुभयो ।
निर्देशनालयका निमित्त निर्देशक श्रेष्ठले प्रदेशभर २८ वटा सडक–पुल अलपत्र रहेको जानकारी दिनुभयो । उहाँले सम्पर्कमा रहेकालाई मौखिक रुपमा सचेत गराइसकेको र त्यसबाट पनि अटेर गरेमा लिखितको प्रक्रिया अघि बढाउने बताउनुभयो ।
मन्त्री केसीले निर्माणको गुणस्तर परीक्षणमा कुनै सम्झौता नगर्न निमित्त निर्देशक श्रेष्ठलाई निर्देशन दिनुभयो । निर्माण व्यवसायीले गरेका कामको निरीक्षण र परीक्षण गर्ने दायित्व सरकारको भएकाले गुणस्तर परीक्षणमा ध्यान दिइनुपर्ने मन्त्री केसीले बताउनुभयो । धेरै सडक पुल अलपत्र परेको जानकारी आफूले पाएकाले त्यसलाई समाधान गर्न मन्त्री केसीले निर्देशन दिनुभयो ।
मन्त्री केसी मंगलबार नै शहरी विकास तथा भवन कार्यालय कास्कीको निरीक्षणमा पुग्नुभएको थियो । त्यहाँ कार्यालय प्रमुख सीडीई ओमराज ढुंगानाले कार्यालयले गरिरहेका कामको ब्रिफिङ गर्नुभएको थियो । सो क्रममा मन्त्री केसीले प्रदेश सभा भवन निर्माणको काम तत्काल अघि बढाउन कार्यालय प्रमुख ढुंगानालाई निर्देशन दिनुभयो ।
निर्माण सुरु भएपछि समस्या नहुने गरेर काम गर्न कार्यालय प्रमुख सीडीई ढुंगानालाई निर्देशन दिनुभएको हो । ‘पहिलो कार्यकालमा प्रदेश सभा भवन बन्न सकेन । यो कार्यकाल सकिँदा भवनको काम सक्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘जग्गा भोगाधिकारको विषयले भोलि काम सुरु भएपछि समस्या नहुने गरेर, कानुनी परामर्श लिनुपर्ने भए बुझेर काम अघि बढाउनुहोला ।’
कार्यालय प्रमुख ढुंगानाले प्रदेश सभा भवनको क्रम टेण्डर मूल्यांकनको क्रममा रहेको जानकारी दिनुभयो । हाल प्रदेश सभा रहेको ठाउँको प्रयोगबारे विगतमा भएका निर्णय खोज्ने क्रममा रहेको ढुंगानाले बताउनुभयो ।
प्रदेश सभा भवन बनाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्री केसीले प्रादेशिक शहरको विकासबारे योजना बनाएर मन्त्रालयमा प्रस्तुत गर्न प्रमुख ढुंगानालाई निर्देशन दिनुभयो । प्रदेश राजधानी पोखरालाई अझै विकास गर्ने र प्रदेशभित्रका अन्य सहरलाई समान विकास गर्ने योजना मन्त्री केसीले कार्यालय प्रमुखसँग माग्नुभएको हो । स्थानीय तहसँग मिलेर जनता आवास कार्यक्रमको बजेट कार्यान्वयन गर्न मन्त्री केसीले ढुंगानालाई निर्देशन दिनुभयो ।
यो कार्यक्रम गोरखामा कार्यान्वयन गर्ने गरी चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
शहरी विकास र निर्देशनालय प्रमुखले आवश्यक कर्मचारी नभएकाले काम गर्न केही अप्ठेरो भएको गुनासो मन्त्री केसीसँग गरेका थिए । मन्त्री केसीले जनशक्ति व्यवस्थापन गर्न केही कानुनी समस्या भएकाले त्यसलाई नीतिगत हिसाबले नै समाधान गर्न पहल गर्ने बताउनुभयो ।