
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताउनुभएको छ । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताउनुभयो ।
“आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ ।”, उहाँले भन्नुभयो । मन्त्री थापाले काम गरेर कोहि पनि सानो नहुने र श्रमका लागि सीपको आवश्यकता पर्ने बताउनुभयो ।
उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभएको छ । सीप सिकेर नेपालमा नै स्वरोजगारी बन्ने बाटोमा अग्रसर रहन मन्त्री थापाको अनुरोध छ । “सीप सिकेर युवाहरु विदेश पलायन भएको समस्या समाजमा व्याप्त छ, त्यस्तो हुनु भएन । सरकारले विदे
श पठाउनका लागि सीप सिकाएको होइन । स्वदेशमा नै उद्यमशिल र स्वरोजगारी बन्ने बाटोमा अग्रसर हुनुपर्यो।”, उहाँले भन्नुभयो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले समाजमा भएको निराशाजनक विषयको अन्त्य सीप सिकेर नै हुने उल्लेख गर्नुभयो । तालिमले रोजगारीको अवसर सिर्जना गर्ने हुँदा यसको फाइदा उठाउन सहभागीलाई उहाँको अनुरोध छ । मन्त्रालयले आवश्यकताअनुसारको तालिम आगामी दिनमा पनि उपलब्ध गराउने जानकारी उहाँले गराउनुभएको छ ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख लक्ष्मी भद्र वाग्लेले प्लम्बिङ्ग, आधारभूत केश श्रृङ्गार, विद्युत जडान, आधारभूत कटाई सिलाई, कपाल काट्ने(सैलुन), फेसन डिजाइनर, मन्टेश्वरी, मोबाइल मर्मत र आधारभूत कम्युटर गरी ९ वटा विषयवस्तुमा तालिम दिइने जानकारी गराउनुभयो । उहाँका अनुसार तालिमका लागि प्रदेशभरबाट ४ सय जनाको आवेदन परेको र १ सय ९९ जना छनोट गरिएको छ । स्वरोजगार स्थापना र उद्यमशिलताको विकासका लागि आयोजना गरिएको तालिम प्रभावकारी हुनेमा उहाँ आशावादी हुनुहुन्छ । आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक विकास बमोजिम तीन महिने र छोटो अवधिको गरि कुल ३७ वटा कार्यक्रम तय भएको जानकारी उहाँले गराउनुभयो ।
कार्यक्रममा प्रशिक्षकको तर्फबाट कृष्ण प्रसाद थापा र सिता वाग्लेले आफ्नो धारणा राखेका थिए ।