आँपपिपल र गोखरा अस्पतालमा स्वास्थ्यमन्त्री

नगेन न्यूज
  • ख-
  • ख+

गोरखा । युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ ।
गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन ।
५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त अस्पतालको अवस्था बुझ्न गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पालुङटार पुग्नुभएको छ । ग्रामीण भेगमा विशेषज्ञ सेवा प्रवाह गरिरहेको अस्पतालको जनशक्ति र भौतिक पूर्वाधारको अवस्था बुझ्न मन्त्री पाठक आइतबार आँपपिपल पुग्नुभएको हो । ‘त्यहाँ उपकरण र भौतिक पूर्वाधारको समस्या देखिएन । उपकरणअनुसार जनशक्ति पनि व्यवस्थापन गरिएको रहेछ,’ उहाँले भन्नुभयो, ‘अब कर्मचारीको तलब सुविधाको समस्या हुनेजस्तो बुझियो । संघ सरकारले हस्तान्तरण गरिसकेपछि त्यो समस्या पनि समाधान हुन्छ ।’
आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६४ जना कार्यरत छन् । तीमध्ये ३२ जनालाई संघ सरकारबाट प्राप्त अनुदानमार्फत पालुङटार नगरपालिकाले र बाँकीलाई अस्पताल व्यवस्थापन समितिले तलब सुविधा भुक्तानी गर्दै आएको छ ।
यो अस्पतालले दाँत, आँखा, हाडजोर्नी, जनरल मेडिसिन, मानसिक स्वास्थ्य, सामान्य शल्यक्रियालगायत सेवा प्रवाह गर्छ ।

आफूले प्रधानमन्त्री र संघ सरकारका स्वास्थ्यमन्त्रीलाई अस्पताल हस्तान्तरणको प्रक्रिया पूरा गरिदिन मन्त्री हुनेबित्तिकै भेटेर आग्रह गरेको मन्त्री पाठकले सुनाउनुभयो । कार्तिकभित्र हस्तान्तरण भएमा त्यसपछि उक्त अस्पतालको सबै जिम्मा प्रदेश सरकारले लिने उहाँले बताउनुभयो । ‘आँपपिपल अस्पताल प्रविधिमैत्री पनि रहेछ । त्यहाँ इलोक्ट्रोनिक मेडिकल सिस्टम छ । एकपटक आएको बिरामीले कागजात बोकेर आउनुपर्ने झन्झट नहुने बुझेँ,’ मन्त्री पाठकले भन्नुभयो, ‘आँपपिपल अस्पतालको निरीक्षणमा जाँदा नयाँ कुरा सिक्ने मौका मिल्यो । अरु अस्पतालमा पनि यो प्रविधि जडान गर्न पहल हुन्छ ।’

मन्त्री पाठकले आइतबार नै गोरखा जिल्ला अस्पतालको निरीक्षण गरे । ५० शय्याको उक्त अस्तपालमा नयाँ भवन रहेको र त्यहाँ एमआरआई र सीटीस्क्यान सेवा माग भएको मन्त्री पाठकले बताउनुभयो । ‘गोरखा अस्पताल प्रदेशकै धेरै बिरामी उपचार गर्ने जिल्ला अस्पताल हो । त्यहाँको व्यवस्थापन समितिले एमआइरआई र सीटीस्क्यानको माग गर्नुभएको छ,’ उनले भने । माग भएका उपकरण जनशक्तिसहित व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको मन्त्री पाठकले बताउनुभयो । आफूले सार्वजनिक गरेका स्वास्थ्य सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता साथ काम भइरहेको र त्यसमा सक्रिय सहयोग गर्न दुई अस्पतालका व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, कर्मचारीलाई उहाँले आग्रह गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला