
पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उहाँहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गर्नुभयो । २२ वर्ष संचारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गर्नुभयोे ।
“म करिब २२ वर्ष संचार कर्ममा लागे । संचार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं ।”, उहाँले भन्नुभयो ।
पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताउनुभयो । भनाई र गराईमा फरकपन आयो भने समस्या हुने भनाई उहाँको छ । मिस पोखराका प्रतिस्पर्धीलाई उहाँले सामाजिक बन्न सुझाउदै नेतृत्व विकासका लागि समाजलाई नजिकबाट पढ्न आवश्यक रहेको बताउनुभयो ।
“राजनीति गर्दिन त्यसैले राजनीति मन पर्दैन । व्यवसायमा चाँसो छैन त्यसैले यसको बारेमा जानकारी भएर के गर्नुु ? भन्ने सोच पाल्नुभएन ।”, उहाँले भन्नुभयो । हरेक विषयवस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको उहाँले बताउनुभयो । बोल्दा प्रस्तुतीकरणमा ख्याल गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत पौडेलले समाज निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको र मिस पोखरा जस्ता कार्यक्रमले नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
कात्तिक १० गते फाइनल हुन लागेको मिस पोखरामा १७ जना प्रतिस्पर्धी सहभागी छन् । उनीहरुलाई अहिले विभिन्न तालिम दिइएको पोखरा जेसीजका अध्यक्ष जेसी देबराज शर्माले जानकारी गराउनुभयो । विभिन्न विधामा २१ दिनसम्म तालिम प्रदान गरि क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ अगाडि बढीरहेको भनाई उहाँको छ ।