गण्डकी प्रदेशको पहिलो महिला प्रेस रजिष्ट्रार बिमला भण्डारीद्वारा सपथ ग्रहण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशकी संस्थापक प्रेस रजिष्टार बिमला भण्डारीले सपथ लिनुभएको छ । गण्डकी प्रदेशमा आमसञ्चार ऐन आएपछि पहिलो प्रेस रजिष्टार भण्डारीले सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सपथ खानुभएको हो ।

सपथग्रहण लगत्तै उहाँले कार्यभार सम्हाल्नुभएको छ । यससँगै गण्डकीमा प्रेस रजिस्टारको कार्यालयले औपचारिक रुपमा काम थालेको छ ।
कार्यभार सम्हालेपछि रजिष्टार भण्डारीले सानातिना कामका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउन पहल गर्ने बताउनुभयो । उहाँले आफूले श्रमजिवी पत्रकारको हक, हित संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आचारसंहिता पालना गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो ।

प्रेस रजिष्टारले कार्यभार सम्हालेसँगै अब सञ्चारमाध्यम तथा त्यससँग सम्बन्धित कामहरु यहिंबाट हुने बाटो खुलेको छ ।
यसअघि प्रेस रजिष्टारको कार्यालय तथा प्रेस रजिष्टार नहुँदा सञ्चारमाध्यमसँग सम्बन्धित साना साना कामका लागिपनि राजधानी काठमाडौं जानुपर्ने बाध्यता रहँदै आएको थियो । अब भने सो बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
आमसञ्चार ऐनमा प्रेस रजिष्टारले प्रदेशका आमसंचार माध्यमको नियमन गर्ने, सञ्चार माध्यमको दर्ता, नविकरण, सञ्चार मन्त्रालयमा सञ्चार माध्यमको वार्षिक विकास कार्ययोजना पेश गर्ने, सञ्चार माध्यमको वर्गिकरण, सञ्चार माध्यमलाई सुविधाका लागि सिफारिस गर्ने उल्लेख छ ।

प्रेस रजिष्टारका लागि आह्वान गरेको समयसीमा भित्र ५ जनाको उम्मेदवारी परेपनि आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङको संयोजकत्वमा बनेको छनोट समितिले लिखित प्रस्तावना र अन्तर्वार्ताको माध्यमबाट ३ जनाको नाम सिफारिस गरेको थियो ।
सो ३ जनामध्ये भण्डारीलाई शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रजिष्टार नियुक्त गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीको नियुक्तिलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै सञ्चार क्षेत्रमा पारदर्शिता र विकासको मार्गचित्र भण्डारीले प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै समारोहमा उपस्थित अतिथिहरूले भण्डारीको दीर्घकालीन अनुभव र निष्ठालाई विशेष प्रशंसा गर्नुभयो ।

नवनियुक्त प्रेस रजिष्टार भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष हुनुहुन्छ । रजिष्टारमा नियुक्त भएपछि उहाँले अहिले कार्यवाहक दिनुभएको छ ।
पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारितामा शुरु गरेकी भण्डारी महिलाले मात्र सञ्चालन गरेको रेडियो जननीका संस्थापक स्टेशन म्यानेजर तथा न्युनतम पारिश्रमिक निर्धारण समितिकी पूर्व सदस्य हुन् ।
बिमला भण्डारीको यो ऐतिहासिक नियुक्ति गण्डकी प्रदेशको पत्रकारिता र सञ्चार जगतलाई अझ सशक्त र जिम्मेवार बनाउन महत्वपूर्ण साबित हुने अपेक्षा गरिएको छ ।
प्रेस रजिष्टार नियुक्त गर्ने र सो को कार्यालय स्थापना गर्ने गण्डकी प्रदेश दोश्रो प्रदेश बनेको छ । यसअघि वागमती प्रदेशले मात्रै प्रेस रजिष्टार नियुक्त गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला