
पोखरा । गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो ।
अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताउनुभयो । प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको भन्दै उहाँले बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।
“प्रविधि मैत्री शिक्षा आजको आवश्यक्ता हो । बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौं ।“, उहाँले भन्नुभयो । मन्त्री थापाले रोजगारीका लागि विदेश जाने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न यस्ता कार्यक्रम सहायक सिद्ध हुने विश्वास लिनुभएको छ ।
एमआइटी एआई कार्यक्रमको सार्वजनिकिकरण सङ्गै प्रचारप्रसारको समेत आवश्यक्ता रहेको भनाई उहाँको छ । विश्वविद्यालयलाई समन्वयात्मक हिसाबले अगाडी बढाउनुपर्ने विषय उहाँले उठाउनुभएको छ ।
गुणस्तरीय शिक्षालाई आत्मसात् गर्दै शैक्षिक आयाम र आयतनमा बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ ।
विश्वविद्यालयका डीन कपील अधिकारीले एमआईटी एआईको आवश्यक्ता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो । एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी नपर्ने भनाई उहाँको छ । नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उदेश्य सहित विश्वविद्यालयले एमआईटी एआई कार्यक्रम सार्वजनिक गरेको भनाई अधिकारीको छ । आइटीमा जति धेरै उत्पादन गरिएता पनि खपत हुने उहाँले बताउनुभयो ।
रजिस्ट्रार कैलाश तिमिल्सिनाले २०७६ सालबाट संचालनमा आएको गण्डकी विश्वविद्यालयले छोटो समयमा नै फड्को मारेको जानकारी गराउनुभयो । पोखरा ३२ मा आफ्नै संरचना खडा गरि आइटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउदै आएको उहाँले बताउनुभयो । विश्वविद्यालयले आविस्कार केन्द्रको समेत स्थापना गरेको छ । गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको आबद्धता रहेको उहाँले उल्लेख गर्नुभयो ।
कुलपति गणेशमान गुरुङले आइटी पार्कलाई समेत अगाडि बढाउनुपर्ने आवश्यक्तालाई औंल्याउनुभएको छ । विश्वविद्यालयका बारेमा बेलाबखत आएका नकारात्मक समाचार बेतुकको भएको भनाई उहाँको छ । ५७६ रोपनी जग्गा विश्वविद्यालयको नाममा प्राप्त भएको उहाँले जानकारी गराउनुभयो । विश्वविद्यालयले प्राप्त गर्ने अनुदानमा उदार हुन प्रदेश सरकारलाई उहाँको आग्रह छ ।