एसओएस गण्डकीमा एनसिसीको अभिमुखीकरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीबाट राष्ट्रिय सेवा दल (एनसिसी) को प्रशिक्षणमा सहभागी विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको सभाकक्षमा आयोजित एक विशेष समारोहका बीचमा उक्त अभिमुखीकरण कार्यक्रमअन्तर्गतको प्रथम प्रवचन समारोह आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले जीवनमा सीप आर्जन गर्ने धेरै उपायहरू हुने र तीमध्ये एनसिसीमार्फत् हुने प्रशिक्षण कार्यक्रम पनि एक भएको बताउँदै राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिममा सहभागी एसओएसका विद्यार्थीहरूको प्रशिक्षणको पूर्ण सफलताको कामना गर्नुभयो ।

विद्यालयका सहप्रधानाध्यापक प्रभास पौडेलले प्रशिक्षण अवधिभरि विद्यार्थीहरू राष्ट्रभक्तिको भावनाले ओतप्रोत रही राष्ट्रिय सेवा दलको मर्म र भावनाअनुसार कार्य गर्न सक्षम रहने विश्वास व्यक्त गर्दै उपस्थित अतिथि गणलाई शब्दगुच्छाद्वारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सेवा दलको सङ्क्षिप्त ऐतिहासिक झलकमाथि प्रकाश पार्दै नेपाली सेनाका सहसेनानी उमङ्ग श्रेष्ठले यसमा सहभागी हुने विद्यार्थीहरूले प्रशिक्षण अवधिभर गर्ने गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले राष्ट्रिय सेवा दलको सि सं. ५० अन्तर्गतको प्रशिक्षणमा सहभागी एसओएस गण्डकीका सम्पूर्ण विद्यार्थीहरूप्रति शुभकामना व्यक्त गर्दै प्रथम मन्तव्य व्यक्त गर्नुभयो । विद्यार्थीहरूमा राष्ट्रिय भावनाको विकास गर्दै उनीहरूको समग्र व्यक्तित्व विकासमा समेत प्रशिक्षणले सकारात्मक भूमिका निर्वाह गर्ने उहाँको धारणा थियो ।
सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले पूर्ण अनुशासनमा रही आफूमा अन्तर्निहित विभिन्न क्षमता उजागर गर्न विद्यार्थीहरूले एनसिसीको सि सं. ५० प्रशिक्षणलाई भरपुर उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सेवा दलको सि सं. ५० अन्तर्गतको प्रशिक्षण कार्यक्रममा एसओएस गण्डकीका तर्फबाट छात्र र छात्रा गरी जम्मा ३६ जना विद्यार्थीहरूको सहभागिता रहनेछ ।
जम्मा १०० दिने चल्ने उक्त प्रशिक्षणको पहिलो चरणका ७९ दिने कार्यक्रमहरू विद्यालयमै सम्पन्न हुनेछन् भने दोस्रो चरणको कार्यक्रममा प्रशिक्षार्थीहरूलाई २१ दिने विशेष कोर्सका लागि नवलपरासीको हात्तीखोरस्थित राष्ट्रिय सेवा दलको शिविरमा लगिनेछ ।
विद्यार्थीको सर्वाङ्गीण पक्षको मूल्याङ्कन गरी प्रारम्भिक चरणको छनोट गरिने एनसिसीको प्रशिक्षणमा एसओएस गण्डकीका विद्यार्थीहरूले दोस्रो पटक सहभागिता जनाएको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बूढाले बताउनुभयो । यसपूर्व २०७८ सालमा पनि विद्यालयका विद्यार्थीहरूले यस्तै प्रकृतिको प्रशिक्षणमा सहभागिता जनाइसकेको उहाँले जानकारी दिनुभयो ।
अभिमुखीकरण समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, बालग्रामका युवालय प्रमुख बाबुराम बराल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री , उपसेनानी सीमा थापा, राष्ट्रिय सेवा दलका प्रतिनिधि जमदार दीपेन्द्र तिवारी, अमलदार रामचन्द्र बस्नेत, सिपाही सुमीक्षा राई, राष्ट्रिय सेवा दल एसओएस गण्डकीका शिक्षक समन्वयकर्ता दीपकबाबु नेपाली, बालग्रामका आमा प्रतिनिधिहरू, राष्ट्रिय सेवा दलको प्रशिक्षणमा सहभागी विद्यार्थी तथा उनीहरूका अभिभावकहरूको समेत सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला