विदेश पढ्न जाने विद्यार्थीहरुको कथा “परदेशी २”, प्रकाश सपुतका लागि नौलो अनुभव

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । वरिष्ठ लोकगायक तथा फिल्म निर्माता, निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा बनेको बताउनुभयो ।
विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले फिल्ममा सामाजिक कथा भएकाले सबैले हेर्नुपर्ने बनेको दाबी गर्नुभयो ।

परदेशी’ र ‘परदेशी २’ को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु बिल्कुलै फरक भएको उहाँले बताउनुभयो । विदेशिनु नेपालीका लागि बाध्यता बनेको छ । “खासगरी उच्च शिक्षाका लागि परदेशिने नेपालीको विदेश भोगाईलाई फिल्म मार्फत दुरुस्तै उतारिएको छ ।”, उहाँले भन्नुभयो ।
पोखरा आफ्ना लागि सुन्दर शहर भएको र यसअघिका फिल्ममा राम्रो साथ पाएको भनाई उहाँको छ । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पछि यो फिल्म पनि दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको उहाँले सुनाए ।

कार्यक्रममा गायक तथा फिल्मका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेकोले आफू जोडिएको बताउनुभयो । गीत संगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र ‘परदेशी २’ मा जोडिँदा चुनौती नै मोलेर आबद्ध भएको उहाँको भनाई थियो ।
‘नारायण सर र म गीत संगीत कै भएकाले काम गर्न त्यति असहज भएन’, सपुतले भन्नुभयो । पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध भएकाले पोखराबाट माया पाउनेमा सपुत आशावादी रहेका बताउदै फिल्ममा आफूले एउटा बिदेसिने विद्यार्थीको भूमिका निर्वाह गरेको जानकारी दिन्भयो । परदेश हुँदा घर, साथी, पढाई साथै काममा हुने भोगाइ र यादहरूलाई फिल्ममा चित्रण गरिएको छ ।

अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको बताउनुभयो ।
फिल्ममा एकजना परदेशी हुँदा उसको परिवार त सधै उसको पर्खाइमा रहने भयो । तर उसँग जोडिएको उसको प्रेमलाई पनि फिल्ममा देखाएको छ । प्रदर्शनका हिसाबले परदेशी २ आफ्नो ३३ औं सिनेमा भएको जानकारी उनले गराइन् ।
प्रकाश सपुतलाई फिल्म क्षेत्रमा स्वागत गर्दै केकीले भन्नुभयो,“उहाँको अभिनय कौशलतालाई हेर्दा नयाँ जस्तै लागेन । पहिले देखि नै फिल्म क्षेत्रमा लागेजस्तो देखियो ।”
फिल्ममा प्रकाश र केकीको अलवा वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ ।
राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ ।
अष्ट महर्जनको द्वन्द्व, श्याम श्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन रहेको फिल्म युनिटले विहिबार केही कलेजहरुमा पुगेर प्रचार समेत गरेको । शुक्रबार बिहानको समय पनि कलेजहरूमा पुगेर प्रचार गरिने जनाइएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा प्रज्ञा प्रतिष्ठानका कार्यवहाक कुलपति जीवन दाहाल, लोकदोहोरी गायक चोलेन्द्र पौडेल सहितको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले गरेका थिए भने संचालन सचिव सन्तोष बस्यालले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला