पोखरा, ९ असोज । मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकार द्वय बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ ।
गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमीतथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लागेका हुन् ।
छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिनुभयो ।
संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको हो ।
उक्त पुरस्कारको राशी नगद २० हजार १ सय ११ रुपैयाँरहेको छ ।
असोज १२ गते एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने सचिव बरालले जानकारी दिनुभयो ।
सम्मानित हुन लागेका पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत हुनुहुन्छ । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गर्नुभएको बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसक्नुभएको छ ।
हाल उहाँ नेपाल आदिवासीजनजाति पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्ष हुनुहुन्छ ।
यस्तै पत्रकार तारा पौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । उहाँ हाल सिटीपोखरा डटकमको सञ्चालक÷सम्पादक भएर काम गरिरहनुभएको छ । यसभन्दा अघि उहाँले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी,विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपालन्यूज डटकममा काम गरिसक्नुभएको छ ।
उहाँले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजन मार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुदपत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्य भएर काम गरेकीतारा प्रेस चौतारी नेपाल कास्कीको उपाध्यक्ष हुनुहुन्छ ।
यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्तिगुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन् ।