गलत र भ्रामक सूचना र यस विरुद्ध लड्ने पहल Shikshya.org अब सबैका लागि

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास र युथ इनोभेसन ल्याबले नेपालको क्षेत्रीय तथा औद्योगिक विज्ञहरूको सहयोगमा नेपालमा गलत र भ्रामक सूचनाको वृद्धि न्यूनिकरण गर्न “गलत र भ्रामक सूचना सम्बन्धी बुझाइ र यस विरुद्धको लडाईं” नामक पाठ्यक्रम सार्वजनिक गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट ई. विल्करसन र युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले कोर्स संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

 

नेपालमा सूचना प्रविधि प्रयोगमा उल्लेखनीय वृद्धि भएसँगै व्यापक रूपमा गलत र भ्रामक सूचनाको प्रवाह बढ्दो समस्या बनेको समयमा गलत र भ्रामक सूचना समस्यालाई सम्बोधन गर्न, नागरिकलाई थप सचेत बनाउन, डिजिटल साक्षरता अभिवृद्धि गर्न, जनचेतना प्रवर्द्धन गर्न र सामाजिक सञ्जालको क्षेत्रमा प्रविधिको जिम्मेवार प्रयोग सुनिश्चित गर्न नेपाल  लगायत विश्वभर प्रयासहरू भइरहेको समयमा अखिलेश उपाध्यायको नेतृत्वमा विकास गरिएको पाठ्यक्रम Shikshya.org  मा सार्वजनिक भएको हो ।

 

Shikshya.org मार्फत २५ अगस्ट २०२३ देखि अनलाइन कोर्स “गलत र भ्रामक सूचना सम्बन्धी बुझाइ र यस विरुद्धको लडाईं” अब आम मानिसहरूका लागि पहुँचयोग्य बनाइएको छ ।

अखिलेश उपाध्यायको नेतृत्वमा विकास गरिएको पाठ्यक्रममा विशेषगरी चार ओटा मोड्युलहरू छन् । जसमा राजन पोखरेलले विकास गरेको पहिलो मोड्युलमा परम्परागतदेखि नयाँ मिडियासम्म नेपालको विकसित मिडिया परिदृश्यको अन्वेषण गरिएको छ । त्यससँगै यसमा गलत र भ्रामक सूचना विरुद्ध लड्ने उत्कृष्ट अभ्यासहरूको बारेमा छलफल गरिएको छ । दीपक अधिकारीले तयार पारेको दोस्रो मोड्युल व्यक्तिहरूलाई प्रभावकारी तरिकाले तथ्य-जाँच गर्ने प्रविधिहरू प्रदान गर्न र गलत र भ्रामक सूचनाहरू विरुद्ध लड्न मिडिया साक्षरता प्रवर्द्धन गर्नमा केन्द्रित छ । त्यसैगरी अवास्ना पाण्डेले तेस्रो मोड्युलको नेतृत्व गरेकी छिन् । यो मोड्युल नेपालमा सीमान्तकृत समुदायहरूलाई लक्षित गरी फैलाइने गलत र भ्रामक सूचनाहरू विरुद्ध लड्न र यी समूहहरूमा यसको प्रभाव कस्तो हुन्छ भन्ने कुराको मूल्याङ्कनमा केन्द्रित छ । र, अन्त्यमा लक्ष्मी महर्जनले विकास गरेको चौथो मोड्युल गलत  र भ्रामक सूचना विरुद्ध लड्न विश्वव्यापी रूपमा अबलम्बन गरिएका उत्कृष्ट अभ्यास, कानुनी र नियामक रणनीतिहरूमा केन्द्रित छ ।

पत्रकार, ब्लगर, भ्लगर, सामाजिक सञ्जाल इन्फ्ल्युन्सर, सामग्री सिर्जनाकर्ता (कन्टेन्ट क्रियटर), LGBTIQ+ र सीमान्तकृत समुदायका प्रतिनिधिहरू लगायत नेपालका सातवटै प्रदेशमा प्रान्तीय स्तरका कार्यशालामा प्रशिक्षण प्रदान गरेर यो पहल सुरु भएको हो । प्रभावकारी सिकाइ भएको सुनिश्चित गर्न दुई-पक्षीय रणनीति अपनाएर सञ्चालन गरिएको कार्यशालामा १४० भन्दा बढी सहभागीहरूलाई प्रशिक्षकहरूको प्रशिक्षक (ToT) का रूपमा तालिम दिइएको थियो । त्यसमा पनि सबैभन्दा बढी स्थानीय सन्दर्भ र केस स्टडीहरूमा कार्यशाला केन्द्रित थियो । त्यसपछि सहभागीलाई गलत र भ्रामक सूचना पहिचान गर्न र त्यसविरुद्ध लड्ने क्षमताको विकास गर्न सैद्धान्तिक अन्तरदृष्टि र व्यावहारिक सीपहरू प्रदान गरिएको थियो ।

 

Shikshya.org ले विकास र डिजाइन गरेको यो प्लेटफर्ममा प्रयोगकर्ता-अनुकूल इन्टरफेस समावेश गरिएको छ । जसमा भिडियो सामग्री, ग्राफिकल प्रतिनिधित्व, क्विज र विशेषज्ञहरूद्वारा योगदान गरिएको अन्य शैक्षिक सामग्रीहरू समावेश छन् । यसले समृद्ध र आकर्षक सिकाइ अनुभव सुनिश्चित गर्ने आयोजकको विश्वास छ ।

Shikshya.org मार्फत गलत र भ्रामक सूचना सम्बन्धी बुझाइ र यस विरुद्धको लडाईंमा कसरी एक्सेस पाउने ?

  • सबैभन्दा पहिले शिक्षा org मा जानुहोस् ।
  • त्यसपछि अकाउन्ट बनाउनका लागि आवश्यक सम्पूर्ण विवरणहरू भर्नुहोस् ।
  • यति गरेपछि जिमेलमा आएको भेरिफिकेसन लिङ्कमा क्लिक गरेर अकाउन्ट भेरिफाई गर्नुहोस् ।
  • अकाउन्ट भेरिफाई भइसकेपछि होमपेजमा रहेको ‘इनरोल नाउ’ मा क्लिक गरी ‘अन्डरस्ट्यान्डिङ इन्ड कम्ब्याटिङ मिस/डिस इन्फरमेसनको कोर्स अनलक गर्नुहोस् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला