नेपाली लोकरक ब्याण्ड नेपथ्यको जापानका तीन सहरमा कन्सर्ट हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

टोकियोमा अगस्ट ८ , ‘फुकुओकामा १२ र ओसाकामा अगस्ट १७ मा
काठमाडौं । नेपाली लोकरक ब्याण्ड नेपथ्यले जापानको टोकियो, फुकुओका र ओसाकामा कन्सर्ट गर्ने भएको छ ।
टुरको थालनी राजधानी टोकियोबाट हुने नेपथ्यले जनाएको छ । यसका लागि १४ सदस्यीय ब्याण्डको टोली अगस्ट महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्ट ८ मा पहिलो कन्सर्ट गर्नेछ । अगस्ट १२ मा ‘फुकुओका सिभिल हल’ र अन्तिम प्रस्तुति स्वरुप अगस्ट १७ तारिखमा ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने तय भएको छ ।

सन् १९९८ मा नेपथ्यले पहिलोपटक जापानमा प्रस्तुति दिएको थियो । पछिल्लोपटक सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’मा प्रस्तुति दिएको थियो ।
ब्याण्डका गायक अमृत गुरुङले जापानसँग धेरै सम्झनाहरु जोडिएको र जापानसँग जोडिएका मीठा यादमध्ये केही वर्षअघि टोकियो डोममा पाएको भव्य मायाको अनुभूति पनि अविस्मरणीय रहेको बताउनुभयो ।

आफूहरु जुनसुकै परिस्थिति र स्वरुपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृतले बताउनुभयो ।

सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने गरी झण्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रसारण गरेको थियो ।
त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्याण्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो ।

सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’को नारासहित मानवता प्रवद्र्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने योजना बनाएको छ ।
जापानमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला