तेस्रो अन्तर्राष्ट्रिय जलरङ कला महोत्सव मंसिर १६ देखि २० सम्म हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा आगामी मङ्सिर १६ देखि २० (डिसेम्बर २ देखि ६) गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय जलरङ कला महोत्सव आयोजना हुने भएको छ ।

समाजका अध्यक्ष एनबी गुरुङले पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय जलरङ कला महोत्सवको घोषणा गर्दै काठमाडौँ उपत्यकाको ऐतिहासिक सम्पदा, कला र संस्कृतिलाई थप प्रचारप्रसार एवं नेपाली कलाको विकास गर्ने मूल उद्देश्य रहेको जानकारी दिनुभयो ।
साथै उहाँले यस पटकको प्रदर्शनीको शीर्षक ‘महान् प्राचीन सभ्यता काठमाडौँ’ रहेको जनाउदैं र स्वदेश र विदेशका कलाकारलाई औपचारिकरूपमा सहभागी हुन आह्वान समेत गर्नुभयो ।

उक्त महोत्सवमा ४० देशका एक सय ५० भन्दा बढी कलाकारको प्रत्यक्ष उपस्थितिमा तीन सयभन्दा बढी कलाकृति प्रदर्शनी हुने जनाइएको छ ।

समाजका महासचिव दीपेन्द्रमान बनेपालीले महोत्सवमा सामूहिक कला प्रदर्शनीका साथै हनुमानढोका, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, टोखा, बूढानीलकण्ठ लगायतका ऐतिहासिक ठाउँमा पुगेर यथास्थान चित्र सिर्जना, कलाको प्रत्यक्ष डेमोस्ट्रेसन र कलासम्बन्धी अन्तरक्रिया गरिने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं समाजका उपाध्यक्ष लालकाजी लामाले यसले काठमाडौँ उपत्यकाको प्राचीन सभ्यतालाई अझ नजिकबाट नियाल्न सहयोग पुर्याउनुका साथै कला र पर्यटनको राजधानीको रूपमा विश्वमाझ अझ बढी चिनाउन मद्दत पुर्याउने बताउनुभयो ।

अध्यक्ष गुरुङले “कलासँगै पर्यटन” भन्ने मूल नाराका साथ स्थापना भएको समाजको उद्देश्यलाई साकार पार्न यो कार्यक्रमले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सहभागी हुने कलाकारले काठमाडौँ उपत्यका शीर्षकमा नै चित्रहरू सृजना गरी प्रदर्शनीका लागि पठाउने छन् ।

अन्तराष्ट्रिय जलरङ समाज नेपालले स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाका महत्त्वपूर्ण कार्यक्रमहरू गर्दै आएको छ ।
समाजले सन् २०१६ र २०१८ मा काठमाडौँ र घान्द्रुक तथा काठमाडौँ र लुम्बिनीमा दुई पटक अन्तर्राष्ट्रिय कला महोत्सव सम्पन्न गरिसकेको छ ।
गत वर्ष भने पोखरा र घाचोकमा चारदेश (नेपाल, भारत, बङ्गलादेश र इरान) सम्मिलित ‘पोखरा आर्ट क्याम्प’ सम्पन्न गरिसकेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला