‘मन्त्रीमुखी’ बजेटले प्रदेशभरका जनता खुसी हुन सक्दैनन् : सांसद केसी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको वार्षिक विकास पुस्तिका हेर्दा मन्त्रीको निर्वाचन क्षेत्रबाहेक अरु ठाउँका जनता खुसी हुने अवस्था नरहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रतिष्ठानलगायतको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार आफ्नो धारणा राख्दै एमाले सांसद केसीले बजेट ‘मन्त्रीमुखी’ भएको टिप्पणी गर्नुभयो ।

‘मन्त्री ज्यूका जिल्लाको निर्वाचन क्षेत्रबाहेक अरु जिल्लाका जनता खुसी हुने अवस्था रहेन । कास्कीलगायत अन्य मन्त्री नभएका जिल्ला त हेरेको हेरै हुने अवस्था देखियो,’ उहाँले भन्नुभयो, ‘योजनाहरु मन्त्री केन्द्रीत मात्र भो जनता केन्द्रीत र सन्तुलन हुन सकेन ।’
उहाँले एकै ठाउँमा मात्र बजेट केन्द्रीत गर्दा प्रदेश संरचनाको औचित्य पुष्टि नहुने बताउनुभयो । ‘मनाङ र मुस्ताङमा जोड्दा जति बजेट परेको छ त्योभन्दा १० करोड रुपैयाँ बढी म्याग्दीमा छ । अनि कसरी समान विकास हुन्छ ?’ सांसद केसीले अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो ।

स्थानिय तहका जनप्रतिनिधिले सिफारिस गरी पठाएको योजना बजेटमा समावेश नगरिएको उहाँले बताउनुभयो । दीगो प्रकृतिको विकास हुने गरेर बजेट नआएको उहाँले दाबी गर्नुभयो । ‘बजेट विनियोजन गर्दा भूगोलअनुसार सन्तुलित भएको देखिएन,’ सांसद केसीले भन्नुभयो, ‘प्रदेशको क्षेत्र अधिकार थाहा नपाई योजना राखिएको जस्तो देखिन्छ । भुगोल नै नबुझी कार्यकर्ताबाट आएको चिटका आधारमा योजना हो भन्ने प्रष्ट देखिन्छ ।’

फुटसल, स्वीमुङ पुलजस्ता खेलकुदसँग सम्बन्धित क्षेत्रमा मनोरञ्जन कर लिनु उचित नहुने उहाँको भनाइ थियो ।
जनतालाई कर तिर्न समस्या नभएको तर कर तिरेबापत सरकारले देखिने गरेर केही दिन नसक्दा सरकारप्रति विरोधका स्वर सुनिएको सांसद केसीले बताउनुभयो । ‘कर लिएर जनतालाई हामीले के दियौं भन्ने विषय हो । यस्तो भावना दबिने गरेर जनतासँगै प्रदेश सरकार छ भन्ने अनुभूति गराउन सकौं,’ उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षभित्र सरकारी कार्यालयमा सेवा लिन जाँदा जनताले बिचौलियालाई पैसा तिर्नुपर्ने सामान्य समस्या हटाऔं ।’
सरकारले करको दायरा बढाउने नाममा अहिलेसम्म कर नलगाइएका सबै ठाउँमा कर लगाउने नीति लिएको सांसद केसीले आरोप लगाउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला