शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरुमा प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालय संस्कृत माध्यमिक विद्यालय भीमकालीपाटन पोखरामा निर्मित शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरुमा शुक्रबार प्राणप्रतिष्ठा गरिएको छ ।
मन्दिरका गणेश, देवी, सूर्य, विष्णु र शिवलगायत देवीदेवताका मूर्तिमा वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गर्ने कार्य डा. भोलानारायण रेग्मीको प्रमुख आचार्यत्व शुक्रबार सम्पन्न भएको छ ।

बिहान ५ः१५ बाट सुरु भएको कार्यक्रमा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु उपस्थित भई आर्थिक सहयोग समेत गरेको मूल आयोजक समितिका संयोजक विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।
मूर्तिहरुको पर्दा हटाएर सार्वजनिक गर्ने कार्य नेत्रोन्मीलनमा विशिष्ट विद्वान् व्यक्तित्व डा. चिद्घन चैतन्य महाराजले निराकार तत्वका रुपमा ईश्वरको बोध गर्न जोसुकैले नसक्ने हुँदा जनसामान्यले समेत सजिलै अनुभव गर्न सक्ने गरी भगवान्को सगुण साकार रुपमा मूर्तिहरुको स्थापना गरिने गरिएको कुरा बताउनुभयो ।

२०७५ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले मन्त्रालयमार्फत् पन्ध्र लाख रुपैयाँ बजेट विनियोजन गरी सुरु भएको मन्दिरको बाँकी कार्यसमेत गरी ९० लाख लागत लाग्ने बताइएको छ ।
पोखराको प्रसिद्ध धार्मिक स्थल गाईघाट, विन्ध्यवासिनी नजिक रहेको यस मन्दिरलाई स्थानीय समुदायको अपनत्व र संरक्षकत्वमा महत्वपूर्ण धार्मिक स्थलका रुपमा स्थापित गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समिति सदस्य रोजी पराजुलीले बताउनुभयो ।

प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल आयोजक समिति, रामविक्रम राणाको संजकत्वमा संघसंस्था परिचालन उपसमिति, ईश्वरीप्रसाद बास्तोलाको संयोजकत्वमा अर्थ व्यवस्थापन उपसमिति, जुनकाजी गुरुङको संयोजकत्वमा स्वागत कार्यक्रम उपसमिति, रामू पौडेलको संयोजकत्वमा पूजा सामग्री व्यवस्थापन उपसमिति, कामना आमा समूहको संयोजकत्वमा ध्वजा पताका व्यवस्थापन उपसमिति, रामबहादुर लामिछानेको संयोजकत्वमा भोजनप्रसाद तयारी उपसमिति, विष्णुकमारी मल्लको संयोजकत्वमा प्रसाद वितरण उपसमिति, कल्पना अधिकारीको संयोजकत्वमा महिला परिचालन उपसमिति, गोविन्दप्रसाद अधिकारीको संयोजकत्वमा सरसफाइ व्यवस्थापन उपसमिति, रुद्रप्रसाद सुवेदीको संयोजकत्वमा भजन तथा सांस्कृतिक कार्यक्रम परिचालन उपसमिति, गोविन्द नेपालीको संयोजकत्वमा मञ्च तथा साउण्ड सिस्टम उपसमिति, साहरा प्रधानको संयोजकत्वमा अनुगमन उपसमिति र श्रीकान्त सापकोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको थियो ।

आर्थिक व्यवस्थापन उपसमिति संयोजक ईश्वरीप्रसाद बास्तोलाका अनुसार गुरुकुल अक्षयकोष र मन्दिर सञ्चालनका लागि छ लाख एक हजार आठ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
विद्यालयले मन्दिर निर्माण समिति, चन्दादाता, स्थानीय संघसंस्था, आमा समूह, युवा क्लब तथा सम्पूर्ण श्रद्धालु भक्तजनप्रति कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुराएकोमा धन्यवाद ज्ञापनसमेत गरेको छ ।
मन्दिरमा आजबाट नै दैनिक रुपमा रुद्रभिषेकलगायत धार्मिक अनुष्ठान सुरु गरिने भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला