गण्डकी प्रदेशस्तरिय परम्परागत तारा खेलको उपाधि बागलुङले जित्यो

नगेन न्यूज
  • ख-
  • ख+

जोमसोम, जेठ १८ । दोेश्रो गण्डकी प्रदेश स्तरिय परम्परागत तारा खेलको उपाधि बागलुङले जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मुस्ताङ थासाङ–३ लेतेमा बिहिबार सम्पन्न प्रतियोगितामा बागलुङले म्याग्दीलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो ।
उपाधि संगै बागलुङले नगद ७५ हजार र शिल्ड प्राप्त गर्न सफल भएको छ ।

निकै प्रतिष्पर्धात्मक बनेको प्रतियोगितामा बागलुङले कुल ८३ अंक प्राप्त गर्दै उपाधि जित्दा म्याग्दी जिल्ला २ अंकले पछि पर्दै ८१ अंकका साथ उपविजेता बनेको छ ।
उपविजेता भएको म्याग्दीले नगद ५० हजार हात पार्न सफल भयो ।

त्यस्तै प्रतियोगितामा मुस्ताङको ‘ए’ टिम भने तेश्रो भएको छ । मुस्ताङले कुल ७८ अंक प्राप्त गर्न सफल भयो । कास्की ७७ अंकका साथ चौथो भएको छ ।
तेश्रो भएको मुस्ताङले ३० हजार नगदका साथमा कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा म्याग्दीको टिका बहादुर शेरपुञ्जा मगर सर्वश्रेष्ठ धर्नुधर हुनुभएको छ । उहाँले व्यक्तिगत २० अंक प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी प्रतियोगितामा विशिष्ट धर्नुधरको उपाधि बागलुङका सुनिल बुढा मगरले प्राप्त गर्न सफल हुनुभएको थियो । उहाँले २ खोल हान्नुभएको थियो ।
सवंश्रेष्ठ भएका प्रतियोगितामा कुल ५ जना खेलाडीले ‘खोल’ हानेका थिए ।

सर्वश्रेष्ठ धर्नुधर भएका टिकाले नगद रु ५ हजार र विशिष्ट धर्नुधर घोषित सुनिलले नगद रु ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारे ।

प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमका ३६ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिता थासाङ गाउँपालिका ३ लेतेस्थित गाउँसमाज भवनमा सम्पन्न भएको थियो । स्थानिय रुपमा निर्मल स्पोर्टिङ क्लवले प्रतियोगिताको सह–व्यवस्थापन गरेको थियो भने आमा सुमह लगायत स्थानिय व्यवसायी लगायतले सहयोग गरेका थिए ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई थासाङ ३ का वडा अध्यक्ष हरिप्रसाद गौचन, लेते गाउँ मुखिया रविन्द्र तुलाचन, निर्मल स्पोर्टिङ क्लवका महेन्द्र गौचनलगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रदेख खेलकुद परिषद गण्डकीले गत वर्षबाट गण्डकी प्रदेशमा खेलिने विशेष परम्परागत खेलको संरक्षण र सम्वद्र्धनका लागि प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
गण्डकी प्रदेशका हिमाली जिल्लामा खेलिदैं आएको तारा खेल विशेष पर्वहरुमा आयोजना हुने गर्दछ ।

प्रदेश खेलकुदका सदस्य योगेन्द्र शेरचन बाँसको विशेष प्रकारको धनुष काँण (आर्चरी) सहित परम्परागत भेष–भुषा र संस्कृतिमा आधारित तारा खेलको आफ्नै विशेष महत्व रहेको बताउँछन् ।
उहाँले भन्नुभयो–“परिषदले नितिगत रुपमा नै यस्ता खेलहरुको संरक्षण र सम्वद्र्धनका लागि अघि बढेको छ । यो खेलको प्रचार–प्रसार गर्दैै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सके यसको महत्व अझै बढ्न सक्छ । गण्डकीमा यो खेलको क्रमिक रुपले अघि बढ्दैछ ।”

यसै गरी परिषदकै आयोजनामा २० गते म्याग्दीको बेनीमा परम्परागत ठेलो खेल हुने भएको छ । प्रतियोगितामा लमजुङ, पर्वत, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता हुने भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला