‘पल्पसा क्याफे’ आजदेखि नियमित मञ्चन हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । कोरोना महामारीले मञ्चन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ले शुक्रबारबाट नियमित प्रदर्शन थालेको छ ।

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाख २५ गतेसम्म मञ्चन हुनेछ । बिहीबार यसको विशेष प्रदर्शन गरिएको थियो ।

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशनमा बनेको नाटकमा विमल सुवेदी र सृष्टि श्रेष्ठले दृश्य र पल्पसाको भूमिका निर्वाह गरेका छन् ।

स्वस्तिमा खड्काले अन्तिम समयमा समयको कारण देखाउँदै नाटक नगरेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसा बनेकी हुन् । विशेष शोमा नाटक हेर्ने सबैले सृष्टिको अभिनयको प्रशंसा गरेका थिए ।

दृश्यको भूमिका निर्वाह गरेका नाटक निर्देशक विमल सुवेदी पनि चरित्रमा सुहाएको टिप्पणी गरिएको थियो । भारतको नेसनल स्कुल अफ ड्रामाबाट निर्देशन र डिजाइनमा ग्राजुएट सुवेदीले १० वर्षपछि अभिनय गरेका हुन् ।

प्रेम र द्वन्द्वको बराबर मात्रा पस्किने नाटकले उपन्यासभन्दा पर रहेर बेपत्ता परिवारको मनोदशालाई सशक्त रुपमा प्रस्तुत गरेको छ । नाटकले मल्टिमिडियाको प्रयोगबाट द्वन्द्वको त्रासदीदेखि दृश्य र पल्पसाको प्रेमलाई जीवन्त तुल्याएको छ ।

‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा समेत अनुदित छ । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा पेश गर्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धी कमाएको थियो ।

सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।

नाटकमा सृष्टि र विमलका साथमा दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला