काठमाडौं, माघ २७ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई आउँदो फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ ।
फागुन २१ गते हुने चुनावमा भाग लिएका सबैलाई चुनावी प्रचारप्रसारमा जानुअघि नै फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयोगले निर्देशन दिएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम आयोगले दलहरूलाई चुनावी आचारसंहिता पालना गर्न भनेको हो ।













