पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै, संस्कृत र चिनियाँ भाषा पढाइने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ११ चैत । पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो ।

संस्थापक एवं प्राचार्य डा. महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गर्नुभयो । “प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको छ । अब पनि यसै अनुसार चल्ने हो । गुणस्तरीय शिक्षाका हेतु हामी व्यवस्थापकीय र शैक्षिक पक्षमा सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेका हौँ । सहलगानीदेखि दुई विद्यालयका शिक्षक अनुभव आदानप्रदान तथा सहकार्य गरिनेछ ।” डा. पराजुलीले भन्नुभयो ।

पत्रकार सम्मेलनमा उपस्थित भएका प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले उत्कृष्ट नतिजा ल्याइरहेको शान्ति निकेतनसँग सहकार्य गरी अघि बढ्न लागेको जानकारी दिनुभयो । “दुई विद्यालय एकआपसमन गाभिने बुझ्नु हुँदैन । लगानीदेखि शैक्षिक सञ्चालनमा दुई पक्षको सहकार्य हो । अब हामी आफैमा प्रतिष्पर्धा गर्दै, निखारिँदै, गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा अघि बढ्ने हो ।” पौडेलले भन्नुभयो ।

२०६२ सालमा स्थापित स्कूलले २० वर्षे शैक्षिक यात्रामा गर्व गर्न लायक उपलब्धि हासिल गरिसकेको प्राचार्य पराजुलीले जानकारी दिनुभयो । “स्थानीय र राष्ट्रिय परीक्षाको नतिजा विश्लेषणमा पटक पटक सर्वोत्कृष्ट विद्यालय भई पुरस्कृत भइसकेको छ। एसइई परीक्षामा पटक पटक जिल्लामा उत्कृष्ट स्थानसहित ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत शान्ति निकेतनले उत्पादन गरिरहेको छ ।” डा. पराजुलीले भन्नुभयो ।

एकलधारामार्गमा अवस्थित यो विद्यालय अब १५ करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाएर धारापानी मार्गमा विस्तार गर्न लागेको स्कूलले जनाएको छ ।
करीब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लगानी गरी एक वर्षभित्रै द्रुतगतिमा निर्माण कार्य अघि बढाएर विद्यालय भवन सम्पन्नको अन्तिम चरणमा रहेको प्राचार्य पराजुलीले बताउनुभयो ।

अत्याधुनिक प्रविधियुक्त भवन अपाङ्गता मैत्री बनेको स्कूलले जनाएको छ । बालबालिकाहरूका लागि लिफ्टको व्यवस्थाका साथै अण्डरग्राउण्ड पार्किङस्थल, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट प्राक्टिस नेट, स्वच्छ एवं स्वस्थ क्यान्टीन, अतिरिक्त क्रियाकलापका लागि ३ सय जना क्षमताको श्रव्य दृश्य कक्ष, अत्याधुनिक आइसीटी ल्याब, साइन्स ल्याब, लाइब्रेरी लगायतका सुविधाहरू थप गरी शिक्षण पद्धत्ति अनुसन्धानमूलक र खोज विधिमा आधारित बनाइने विद्यालयले जनाएको छ ।

स्मार्ट क्लास रूम, विभिन्न डिजिटल उपकरण, कम्प्युटर ल्याब, साइन्स ल्याब, वल्र्ड क्लास डिजिटल लाइब्रेरी, इन्फर्मेसन टेक्नोलोजीका माध्यमबाट शिक्षण सिकाइ हुने प्राचार्य पराजुलीले बताउनुभयो । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद नेतृत्व विकासका साथै नृत्य, कला, सङ्गीत, नाटक, योगा, चिनियाँ र संस्कृत भाषाका कक्षालाई थप प्रभावकारी बनाउँदै विद्यालयलाई डिजी स्कुलका रूपमा विकास गरिने उहाँले बताउनुभयो ।

निकट भविष्यमा प्राविधिक धारमा स्नातक तहका कथाहरू सञ्चालन गर्ने लक्ष्य राखिएको र यसका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको स्कूलले जनाएको छ ।

शान्ति निकेतन स्कूल आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रित शिक्षा प्रणालीमा विश्वास राख्ने उहाँको भनाई छ । अत्याधुनिक भौतिक संरचनाभित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने क्रममा पाठ्यक्रम र परीक्षा आधारित शिक्षामा मात्र केन्द्रित नरहने प्राचार्य पराजुलीको भनाई छ ।

“पछिल्लो समयमा हराउँदै गएको मानवता र नैतिकता बढाउन परोपकार र संस्कारजन्य विषयवस्तुहरूमा विद्यार्थीहरूलाई जागृत गराउने हाम्रो लक्ष्य रहेको छ। विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ। विश्व बजारमा सबल, सक्षम र भविष्यमा पेशागत हिसाबले प्रतिस्पर्धी नागरिक उत्पादन गर्न मुख्य ध्येय रहनेछ।” उहाँले भन्नुभयो ।

शान्ति निकेतन सञ्चालक समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सल्लाहकार पुरूषोत्तम पराजुलीले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला