काठमाडौं । अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुकटूर गर्ने हुनुभएको छ ।
गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म स् सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने हुनुभएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सहआयोजना एवं फाइनप्रिन्ट बुक्सको पहल र नेपाल एयरलाइन्सको सहयोगमा हुन लागेको कार्यक्रम ११ फेब्रुअरीमा टोकियो, १४ फेब्रुअरीमा सिजुओका, १५ फेब्रुअरीमा नागोया, १७ फेब्रुअरीमा ओसाका, १९ फेब्रुअरीमा फुकुओका र २० फेब्रुअरीमा ओकिनावामा हुनेछ ।
जापानमा रहेका आफ्ना शुभचिन्तक एवं पाठकसमक्ष पुग्ने अवसर पाउँदा आफूलाई खुसी लागेको महानायक हमालले बताउनुभयो ।
जापानमा रहेका नेपाली पाठक एवं महानायक हमालका शुभचिन्तकसमक्ष हमाल र उहाँको पुस्तकलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेले बताउनुभयो ।
फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत सीइओ नीरज भारीले पनि विदेशमा, खासगरी जापानमा नेपाली पुस्तक र साहित्यप्रेमीको संख्या ठूलो रहेको भन्दै ‘युगदेखि युगसम्म’ बुकटूरले लेखक, प्रकाशक र पाठकको सम्बन्धलाई झन् नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
फाइनप्रिन्टले लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा राजेश हमालको जीवन कथा एवं सिनेमा र समाजबारे उहाँका विचारहरूको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशन गरेको हो ।













