लेखनाथ, माघ २६ । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।
तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्फत व्यवसायीहरुले जिवनभर आफुलाई उपयुक्त हुने ज्ञान हासिल गर्न सक्ने र व्यवसायीक जिवनमा सफलता हासिल गर्न सकिने वताउनुभएको थियो ।
उहाँले व्यवसायीक जिवनमा कसैले खोट लगाउन नसक्ने स्वभिमानी जिवन बाँच्नको लागि विभिन्न किसिमका करहरुसम्बन्धी जानकारी हुनुपर्ने र कर तिर्नु हरेक नागरिकको कर्तव्य समेत भएकाले नियतवश कर छल्ने कार्य गर्दा भोलीका दिनमा कसैले पनि सहयोग गर्न नसक्ने अवस्था आउनेतर्फ सजग गराउनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायीक जिवनमा अझै सफल बनाउने उद्धेश्यले र कर गणना, कर विवरण भर्ने, कर चुक्ता लिने, आय विवरण बुझाउने, करसम्बद्ध झन्झटहरु मिसम्याचमा पर्ने, ननफाइलर रहने जस्ता विषयमा व्यवसायीले भोगेका समस्याहरु निराकरणका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता तथा जनताको करप्रतिको सकारात्मक भावना विकास गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीले भोगेका समस्याहरु निराकरणका तालिमको आयोजना गरिएको बताउँदै कर डराउनुपर्ने विषय नभई जान्नुपर्ने विषय भएकाले उद्यमी÷व्यवसायीहरुलाई सचेत बनाउन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गराउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
यस्तै संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले व्यवसायीहरुमा करलाई प्राथमिकता र महत्व नदिइएका कारण विभिन्न समस्या भोगिरहनुपरेको र राज्यको ऐन कानुन एवं कर नितिको बारेमा ज्ञान भएन भनेर उन्मुक्ति नपाईने भएकाले यस विषयमा सचेत गराउन तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले प्रत्येक आर्थिक वर्षको शुरुवातसँगै परिवर्तन भईरहने कर नितिको विषयमा पनि व्यवसायिहरुले आफुलाई अद्यावधिक राख्नुपर्ने बताउनुभयो ।
७० भन्दा वढि उद्योगिव्यवसायीहरुको सहभागिता रहेको तालिममा विवेक एण्ड एशोसिएट्सका सञ्चालक सिए विवेक श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गर्नुभएको थियो ।














