पोखरा, माघ २५ । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने मूल नारासहित पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा! रारा पोखरा गोल्डकप यही माघ २७ गतेदेखि सञ्चालन हुँदैछ ।
सहारा क्लब पोखराको आयोजनामा हुने यस प्रतियोगिता यस वर्ष केही विशेष हुने भएको छ । विषेशगरी यस वर्ष क्लबले आफ्नो ऐतिहासिक रजत वर्ष मनाउँदै गर्दा पोखरेली फुटबल प्रेमीहरुलाई केही नयाँपन दिन पहिलोपटक अस्थायी फ्लडलाइट जडान गरी नाइट म्याचका रूपमा प्रतियोगितालाई सञ्चालन गरिनेछ ।
यसले पोखरेली फुटबल प्रेमी दर्शकलाई नयाँ र अविस्मरणीय फुटबलको अनुभव दिने विश्वास आयोजकको छ ।
पोखरामा खेलकुदको विकास र पर्यटन प्रवद्र्धन दुवैलाई सुदृढ बनाउने यस प्रतियोगितामा आयोजकसहित ३ विदेशी र ८ स्वदेशी गरी १२ क्लबहरुको सहभागीता रहनेछ ।
उक्त टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’मा नेपाल पुलिस क्लब, आयोजक सहारा क्लब पोखरा, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङम्रस्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाईटेड भारत रहेका छन् ।
त्यस्तै समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड, जाउलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, प्लानिङ ब्वाईज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङबीच प्रतिष्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभएको हो ।
दोस्रो खेल माघ २८ गते बुधबार जाउलाखेल युथ क्लबविरुद्ध मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै माघ २९ गते विहीबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मनाङमस्र्याङ्दीबीच प्रतियोगिता हुने र फागुन १ गते शुक्रबार फ्रेण्ड्स क्लबविरुद्ध प्लानिङ ब्वाईज युनाईटेड मैदानमा उत्रनेछ । पहिलो चरणको खेल जित्ने क्लब क्वाटरफाइनल चरणमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै यसपटक समूह ‘ए’ मा नेपाल पुलिस क्लब र थन्डरबोल्ट नर्थ युनाईटेड भारत तथा समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड र आभा एफसी उज्वेकिस्तान बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
२५औं संस्करणलाई थप गर्विलो बनाउन पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । यसपटक प्रतियोगिताको उपाधि जित्ने टोलीले १४ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७ लाख १ हजार रुपैयाँ हात पार्नेछ ।
मुख्य प्रायोजकमा हिमश्री फुड्सको आहा!रारा तयारी चाउचाउ र पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने गोल्डकपलाई राष्ट्रिय खेलकुद परिषद (राखेप), अखिल नेपाल फुटबल संघ(एन्फा), प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की तथा सहारा युके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाले विशेष सहयोग गरेका छन् ।














