बगैँचा स्पोर्टस् मिट सम्पन्न : ७९ जना बाबुनानीहरु पुरस्कृत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, माघ २३ । बगैँचा मन्टेश्वरी प्री स्कुलद्वारा आयोजित बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न भएको छ । यही माघ १८ गतेदेखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्टस् मिट २०८२ मा मनोरञ्जनात्मक १० खेलका २६ वटा समूहमा ७९ जना बाबुनानीहरुले सक्रिय सहभागिता जनाएका छन् ।
विजेता बाबुनानीहरुलाई पोखरा महानगरपालिका वडा नं.१५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेल, पोखरा १० का वडा सदस्य पूर्ण न्यौपाने र बालबिकास विज्ञ प्रभा भुजेल लगायतले मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको छ ।

सो अवसरमा कार्यवाहक वडाध्यक्ष पौडेलले खेलकुदले बाबुनानीहरुको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताउनुभयो । यसले बालबालिकाको शारीरिक तन्दुरुस्तीमा वृद्धि, मांसपेशीको मजबुत विकास, रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै सक्रिय जीवनशैलीको विकासमा मद्दत पुग्ने उहाँले बताउनुभयो ।

यस्तै वडा सदस्य न्यौपानेले बालबालिकाहरूमा एकाग्रता, आत्मविश्वास, अनुशासन र निर्णय क्षमता सुधार गर्न खेलकुदले सहयोग पु¥याउने बताउनुभयो । उहाँहरूमा सहकार्य, सहिष्णुता, नेतृत्व र मित्रता जस्ता सामाजिक सीपको विकास सहित खेलकुद मार्फत बालबालिकाले हार–जितलाई सहज रूपमा स्वीकार गर्न सिक्ने भएकाले भावनात्मक सन्तुलन कायम राख्न पनि मद्दत पुग्ने उहाँले बताउनुभयो ।

बालबिकास विज्ञ प्रभा भुजेलले साना बालबालिकाहरूको पठनपाठन र खेलकुद विकासमा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकालाई घरमै अध्ययनका लागि अनुकूल वातावरण सिर्जना गर्ने, बाबुनानीहरुको पढाइमा सहयोग र निगरानी गर्ने, शिक्षकसँग समन्वय राख्ने तथा बालबालिकालाई जिज्ञासु र आत्मविश्वासी बनाउने वातावरण बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले पढाइ र खेलकुद दुवैमा सन्तुलन कायम गराउँदै बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय मार्गदर्शक रूपमा रहने बताउनुभयो । स्र्पोट्स मिटका क्रममा बाबुनानीहरुले प्रस्तुत गर्नु भएको अनुशासन, धैर्यता र आत्मविश्वास निकै अनुकरिणय रहेको उहाँले बताउनुभयो । विद्यालयले बाबुनानीहरुको पठनपाठन सहित उनीहरूलाई सामाजिकीकरण र दैनिक जीवनयापनलाई सरल बनाउने आवश्यक सीपहरूसँग अभ्यस्त बनाइरहेको उहाँले बताउनुभयो ।

स्पोर्टस् मिटमा बल कलेक्टिङ गेम, फ्रग जम्प गेम, कलर म्याचिङ् गेम, स्विट गेम, चियर एरेन्जीङ् गेम, रेडी फर स्कुल गेम, बलुन व्यालेन्सिङ गेम, सेप गेम, हिट दि टावर, सेक रेस लगायतका मनोरञ्जनात्मक खेलहरू समावेश गरिएको थियो ।
समापन समारोहमा बाबुनानीहरुले नृत्य र योगा समेत प्रस्तुत गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला