काठमाडौं, पुस २९ । काठमाडौं विश्वविद्यालय (केयू)ले नेपाली चलचित्र क्षेत्रमा औपचारिक शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘एमएफएस’ (मास्टर इन फिल्म स्टडिज) नामक स्नातकोत्तर कार्यक्रम सुरु गरेको छ ।
वरिष्ठ फिल्म निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त कोर्षको अध्यापनको लागि औपचारिक घोषणा गरिएको हो ।
खरेलले औपचारिक शिक्षामा फिल्मको समावेशीकरण विश्वविद्यालयले चलचित्र क्षेत्रमा दिएको मान्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फिल्म केवल मनोरञ्जनको साधन मात्र होइन, सांस्कृतिक र जीवनका विषयसमेत बोकेको माध्यम हो । केयूले फिल्म पढाउनु यस क्षेत्रलाई सम्मान र मान्यता दिने काम हो।”
केयूको स्कुल अफ आट्र्सअन्तर्गत भाषा तथा आमसञ्चार विभागद्वारा सञ्चालित दुई वर्षे यो कार्यक्रम यही फेब्रुअरी २०२६ देखि सञ्चालनमा आउने विभाग प्रमुख निर्मलमणि अधिकारीले जानकारी दिनुभयो ।
यस्तै केयूमा फिल्म पढाउँदै आउनुभएको ङिमा गेलु शेर्पाले यो कार्यक्रम नेपालमै पहिलो पटक मास्टर इन फिल्म स्टडिजका रूपमा सुरु भएको बताउनुभयो ।
कार्यक्रममा फिल्म निर्माण, नाट्यशास्त्र, समीक्षालगायतका विविध पाठ्यक्रम समावेश गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मलाई केवल मनोरञ्जनको माध्यममा सीमित नराखी शैक्षिक तथा अनुसन्धानमुखी विषयको रूपमा विकास गर्न केयूसँग सहकार्य भइरहेको बताउनुभयो । बोर्डको तर्फबाट विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था समेत गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
फिल्म समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सिनाले फिल्म र समीक्षाबीचको दूरीलाई यो पढाइले घटाउने विश्वास व्यक्त गर्नुभयो ।
बोर्डका अनुसार यस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, अनुसन्धान प्रर्वद्धन र नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने आधार तयार गर्नेछ ।
केयूको हात्तीवनस्थित स्कूल अफ आट्र्समा सञ्चालन हुने यस कार्यक्रमले चलचित्रको सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक अध्ययन, फिल्म निर्माण, पटकथा लेखन, छायांकन, ध्वनि डिजाइन, सम्पादन, अभिनय, फिल्म समीक्षा, अनुसन्धान तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका आधुनिक विषय समेट्नेछ । यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप हासिल गर्ने अवसर पनि प्रदान गर्ने अपेक्षा गरिएको छ ।














