स्पाइरल ग्यालेक्सीका गणेश गुरुङ “प्लेयर अफ द टुर्नामेन्ट”, लिटिल स्टेप खेलकुद महोत्सव भव्य रूपमा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत २९ । पोखरा महानगरपालिका–८ सिमलचौरस्थित लिटिल स्टेप सेकेन्डरी स्कूलद्वारा आयोजित ‘लिटिल स्टेप ७–ए साइड फुटबल तथा टेबल टेनिस प्रतियोगिता २०८२’ भव्य रूपमा सम्पन्न भएको छ ।
दुई दिनसम्म -चैत २८ र २९ गते) सञ्चालन भएको प्रतियोगितामा फुटबलतर्फ स्पाइरल ग्यालेक्सी एकेडेमी विजेता बनेको छ भने मदन फुटबल क्लब उपविजेतामा सीमित भएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये स्पाइरल ग्यालेक्सी एकेडेमीका गणेश गुरुङ ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुनुभयो ।
त्यस्तै, सर्वाधिक गोलकर्ता पुरस्कार प्रिन्स परियारले जित्नुभएको छ भने उत्कृष्ट गोलकिपरको उपाधि स्पाइरल ग्यालेक्सी एकेडेमीकै उज्ज्वल रोकाले हात पार्नुभएको छ ।
टेबल टेनिसतर्फ सुप्रिम देवकोटा प्रथम, बिर्जेश सुनार द्वितीय तथा सनीश बस्नेत तृतीय हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा दिलबहादुर गुरुङले खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले लिटिल स्टेप सेकेन्डरी स्कूलले शिक्षासँगै खेलकुदलाई समेत प्राथमिकतामा राख्दै यस्ता गतिविधिहरूलाई निरन्तरता दिने जनाउनुभयो ।

त्यस्तै, विशिष्ट तथा विशेष अतिथिहरूमा प्रिन्सिपल पम्फा गुरुङ, शिक्षाविद् पदम बास्ताकोटी, डा. कैलाश तिमिल्सिना, डा. हरि कार्की, इञ्जिनियर मिलन पौडेल तथा विवेक पौडेल लगाएतले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीहरूको पहिचान गरी उच्च स्तरसम्म पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
उक्त प्रतियोगितामा ३० भन्दा बढी टोलीहरूको सहभागिता रहेको थियो भने सहभागी टोलीहरूका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला