“युवाको जाँगर, राष्ट्र निर्माणको आधार” नारासहित पोखरा महोत्सव पौष २९ गते (भोली)बाट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुस २७ । “युवाको जाँगर, राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासहित आयोजना हुँदै आएको महोत्सव यस वर्ष पौष २९ भोलिदेखि माघ ११ गतेसम्म अमरसिंह माविको खेल मैदानमा सञ्चालन हुनेछ ।
युनाइटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी १४औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

महोत्सवले व्यापार, मनोरञ्जन र सामाजिक सेवालाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

महोत्सवमा व्यापारिक स्टल, हस्तकला तथा घरेलु उद्योग, फुड स्टल, शिक्षा, परामर्श तथा सूचना स्टल, सौन्दर्य, फेसन र जीवनशैली, बाल उद्यान, स्वास्थ्य तथा सामाजिक सेवाका स्टल लगायत करिब २ सय ५० स्टल रहनेछन् ।

यस्तै महोत्सवमा २ लाखदेखि २ लाख ५० हजारसम्म दर्शक आउने अपेक्षा गरिएको छ । यस महोत्सवका कार्यक्रम संयोजक दिनेश सुनारका अनुसार यस वर्षको महोत्सव थप आकर्षक, प्रविधिमैत्री र उपभोक्तामुखी बनाइएको छ ।

उहाँका अनुसार महोत्सवमा टिकटक प्रतियोगिता हुनेछ । जसअन्तर्गत टिकटक लाइकको आधारमा प्रथम हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यसका साथै महोत्सवबाट सामग्री खरिद गर्ने उपभोक्तामध्ये भाग्यशाली विजेताहरूले बेटर एप्लायन्सका आकर्षक उपहार जित्न सक्नेछन् ।

जसमा प्रथम हुनेले १ टनको बेटर एसी, दोस्रो हुनेले १५ लिटरको वाटर डिस्पेन्सररमोनाको गिजर, तेस्रोले बेटर बेथ ९० ग्लास हुड चिम्नी, चौथोले रेडियान्ट भ्याकुम क्लिनरको साथै कन्सोलेसन पुरस्कारमा एमिनेट एयर फ्रायर प्राप्त गर्ने छन् ।

त्यस्तै बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि. ले प्रत्येक दिन २ जनालाई निःशुल्क केबलकार टिकट उपलब्ध गराउनेछ ।

महोत्सव अन्तर्गत विविध सांगीतिक कार्यक्रम समेत रहनेछ । जहाँ देशका चर्चित तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति दर्शकहरुले हेर्न पाउनेछन् ।

संयोजक सुनारका अनुसार लोकदोहोरी तथा आधुनिक गायनतर्फ रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी लगायतको प्रस्तुति रहनेछ ।

लाइभ कन्सर्टतर्फ भने लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, सबिन राई एण्ड द फ्यारो, भिटेन, रकहेड्स लगायत चर्चित ब्यान्डहरू धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर मेडिप्लस हस्पिटलबाट प्राथमिक उपचार, कान्तिपुर डेन्टल हस्पिटलबाट दैनिक निःशुल्क दाँत परीक्षण गरिनेछ । त्यसैगरी विभिन्न साझेदार संस्थाबाट भाषा कक्षा, ब्युटी कोर्स, फुड आइटममा विशेष छुटको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार विषेशगरी यस महोत्सव प्रवेशको लागि टिकट रेभल एप मार्फत अनलाइन बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै शारीरिक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक तथा ५ वर्ष मुनिका बालबालिकालाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सव सञ्चालनबाट उठेको केही प्रतिशत रकमलाई क्लबले विभिन्न सामाजिक कार्यसँगै पोखरामा खुला चिडियाखानाको सपना साकार बनाउन अग्रणी भूमिका समेत निभ्याएको छ ।

उक्त चिडियाखानाको लागि क्लबले ५८ लाख ८५ हजार रुपैयाँ सहयोग गर्दै केवल संरचना निर्माणमा मात्र नभई, वन्यजन्तु संरक्षण र पर्यावरणीय शिक्षामा पनि योगदान गरेको छ ।

यस सहयोगले चिडियाखाना भन्ने बित्तिकै एउटा रमाइलो र मनोरञ्जनको स्थल मात्र नभई शिक्षा र चेतनाको केन्द्र बन्ने सुनिश्चित गरेको छ ।

यससँगै आगामी शैक्षिक सत्रदेखि पोखरा–२७ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवासीय छात्रावास सञ्चालन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष लोबहादुर थापाले जानकारी दिनुभएको छ ।

विषेशगरी व्यापार, मनोरञ्जन, शिक्षा र सामाजिक सेवाको संगमका रूपमा १४औँ पोखरा महोत्सव यस वर्ष पनि पोखराको प्रमुख आकर्षण बन्ने उहाँको विश्वास छ ।

युनाइटेड क्लब पोखरा एउटा यस्तो क्लब हो जसले पोखराको सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा गरिएको योगदानका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

युवाको ऊर्जा, सोच र नेतृत्वलाई राष्ट्र निर्माणसँग जोड्ने स्पष्ट उद्देश्यका साथ स्थापना गरिएको यस क्लब आज सेवा, समर्पण र सकारात्मक परिवर्तनको प्रतीक बनेको छ ।

यो कुनै साधारण संस्था होइन युवाको संकल्प, श्रम र समाजप्रतिको जिम्मेवारीबाट जन्मिएको साझा अभियान हो ।

यही संकल्पको जीवन्त प्रतिबिम्ब हो पोखरा महोत्सव । यस क्लबले आयोजना गर्दै आएको पोखरा महोत्सव केवल व्यापार र मनोरञ्जनको मेला मात्र होइन, यो शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र संस्कृतिको प्रवद्र्धनलाई एउटै मञ्चमा जोड्ने एउटा सामाजिक कार्य पनि हो ।

महोत्सवमार्फत संकलित स्रोतलाई पुनः समाजमै लगानी गर्दै क्लबले सामुदायिक विद्यालयमा छात्रवृत्ति, स्वास्थ्य सेवा, खेलकुद प्रतिभा प्रोत्साहन र पोखराको पर्यटन पहिचान बलियो बनाउने कार्यलाई निरन्तरता दिएको छ ।

यही क्लबको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आइरहेको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला