पोखरा । पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि मंचन भइरहेको छ ।
पुस २४ गतेदेखि २७ गतेसम्म मञ्चन भइरहेको नाटक शनिबारबाहेक अन्य दिन दैनिक साँझ ५ बजे तथा शनिबार (आज)भने दिउँसो १ बजे र साँझ ५ बजे गरी दुई सो मञ्चन हुनेछ ।
साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्बा गुरुङ र सितला अधिकारीको संयुक्त निर्देशनमा तयार भएको यो नाटकले दुर्व्यसनका कारण युवाहरूले भोग्नुपरेका पीडा र त्यसले परिवार तथा समाजमा पार्ने गहिरो असरलाई प्रभावकारी रूपमा उजागर गरेको छ ।
नाटक सरल कथावस्तु, सहज निर्देशन र मन छुने अभिनयका कारण दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल देखिन्छ ।
एक घण्टाको अवधिमा प्रस्तुत नाटकले दुव्र्यसन केवल व्यक्तिगत समस्या नभई पारिवारिक र सामाजिक संकट हो भन्ने सन्देश स्पष्ट रूपमा दिन्छ ।
नाटकको लेखक साबित्रा पाठक (सबु)ले समाजमा देखिँदै आएको यथार्थ पीडालाई नाटकमा प्रस्तुत गर्ने प्रयास गरिएको बताउनुभयो । “दुर्व्यसनका कारण धेरै परिवार भित्रभित्रै पीडामा छन् । ती नबोलेका पीडालाई नाटकमार्फत आवाज दिन खोजिएको हो,” उहाँले भन्नुभयो ।
नाटकका निर्देशक पंच सुब्बा गुरुङले सामाजिक जिम्मेवारी बोकेको नाटक प्रस्तुत गर्न पाउँदा सन्तोष लागेको बताउनुभयो । “मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य बनाउने नाटक हाम्रो उद्देश्य हो । दर्शकको प्रतिक्रियाले हामी सही दिशामा छौँ भन्ने महसुस गराएको छ”, उहाँले भन्नुभयो ।
सह–निर्देशक सितला अधिकारीका अनुसार नाटकले युवाहरूलाई सही बाटो रोज्न प्रेरित गर्ने विश्वास लिएको छ । “युवाहरू लक्षित नाटक भए पनि यसको प्रभाव परिवार र समाज सबैमा पर्नेछ भन्ने हाम्रो विश्वास हो”, उहाँले भन्नुभयो ।
नाटक हेरेपछि प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले नाटक समयसापेक्ष र सशक्त रहेको बताउनुभयो । “समाजमा बढ्दो दुर्व्यसनको यथार्थ चित्रण नाटकले प्रभावकारी रूपमा गरेको छ। यस्तो नाटकले सामाजिक चेतना अभिवृद्धिमा ठूलो भूमिका खेल्छ”, उहाँले भन्नुभयो ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले नाटकले गम्भीर विषयलाई सरल र मार्मिक ढंगले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । “कलात्मक प्रस्तुति र सशक्त अभिनयमार्फत दर्शकलाई सोच्न बाध्य बनाउने नाटक बनेको छ । यस्ता सामाजिक नाटकको निरन्तरता आवश्यक छ”, उहाँले भन्नुभयो ।
त्यसैगरी चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल ले नाटकलाई समाजका लागि आवश्यक दस्तावेजको संज्ञा दिनुभयो । “दुर्व्यसन विरुद्ध चेतना फैलाउने यस्ता सिर्जनाले रंगमञ्चको सामाजिक उत्तरदायित्व पुष्टि गर्छ, उहाँले भन्नुभयो ।
पोखरा थिएटरका सञ्चालक परिवर्तनले पनि नाटकको प्रशंसा गर्दै सामाजिक विषयवस्तुमा आधारित सिर्जनालाई पोखरा थिएटरले प्राथमिकता दिँदै आएको बताउनुभयो । “सामाजिक यथार्थ बोल्ने नाटक पोखरा थिएटरको मञ्चमा आउनु सकारात्मक कुरा हो । ‘मृत्यु यस्तो हुनु हुँदैन’ दर्शकका लागि अर्थपूर्ण नाटक बनेको छ”, उहाँले भन्नुभयो ।
कतिपय प्राविधिक कमजोरी देखिए पनि समग्रमा नाटकले दर्शकलाई समय बितेको पत्तै नहुने गरी कथा र भावनासँग जोड्न सफल भएको छ ।
सामाजिक चेतना, जिम्मेवारी र परिवर्तनको सन्देश बोकेको नाटक “मृत्यु यस्तो हुनु हुँदैन” सबैले हेर्नुपर्ने नाटकका रूपमा स्थापित हुँदै गएको छ ।
















