पोखरा, पुस २३ । १४औँ संस्करणको पोखरा महोत्सवको तयारी शुरु हुने भएको छ । विषेशगरी पोखराको सामाजिक, सांस्कृतिक र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित युनाइटेड क्लब पोखराको आयोजनामा हुने यस महोत्सवको तयारी शुरु भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
महोत्सव पोखराको अमरसिंह माध्यमिक विद्यालयको विशाल खेल मैदानमा पौष २९ देखि माघ ११ गतेसम्म हुनेछ ।
आयोजकका अनुसार यस महोत्सवमा कृषि, उद्योग, हस्तकला, सेवा, अटो लगायतका क्षेत्र गरी २ सय ५० वटा स्टल रहनेछन् ।
महोत्सवमा पर्यटकीय स्थलको बारेमा जानकारी दिने संघ संस्थाहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने भएको क्लबका अध्यक्ष लोक बहादुर थापाले जानकारी दिनुभयो ।
क्लबले महोत्सवकै आम्दानीबाट पोखरा र आसपासका २० सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण गर्दै आएको समेत उहाँले बताउनुभयो ।
यस्तै क्लबले स्वास्थ्य अन्तर्गत ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ भने यस क्षेत्रको खेलकुद विकासका निम्ति विभिन्न खेलकुद प्रतियोगितालाई प्रायोजन समेत गर्दै आइरहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवमा करिब २ लाख ५० हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ भने १ करोड ५१ लाख ७५ हजार रुपैयाँ आम्दानी र १ करोड २३ लाख ६० हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सशक्त प्रस्तुति रहनेछ ।
जसअन्तर्गत राष्ट्रिय कलाकारतर्फ रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतको प्रस्तुति रहनेछ भने स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहनेछ ।
यस्तै लाईभ कन्सर्टतर्फ पूर्ण राई, डी मोर्चा लेकाली, जेम्सी, सबिन राई, भिटेन, लाहुरे, टुकीसहित स्थानीय ब्यान्डहरूको धमाकेदार प्रस्तुति रहने महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक दिनेश सुनारले जानकारी दिनुभयो ।
यस्तै उनका अनुसार फरक क्षमता भएका व्यक्ति, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार र ५ वर्षमुनिका बालबालिकाहरुलाई प्रवेश निःशुल्क रहेको छ ।
आयोजकका अनुसार महोत्सवमा नेपाली मौलिक संस्कृति झल्कने नृत्य, बाल उद्यान, विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रदर्शन, विद्यार्थीले निर्माण गरेका विज्ञान प्रदर्शनी समेत रहने छ ।















