पोखरा, पुस १९ । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सम्पन्न गरेको छ ।
प्रलेस, गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील कविता प्रस्तुत गरेका थिए ।
लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका थिए ।
वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो बन्दै गएको बताउनुभयो । वाचित कविताले उठाएका विचारले नेपाली समाजको प्रतिनिधित्व मात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको भन्दै प्रगतिशील कविताको स्कुलिङलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँलयाउनुभयो ।
कार्यक्रममा प्रलेस, गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिनुभयो । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै अधिकारीले गण्डकी प्रदेशका नवपुस्तका कविहरूको स्वर आशालाग्दो देखिएको धारणा राख्नुभयो ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले के लेख्दै छु, किन र कसका लागि लेख्दै छु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने भनाइ राख्नुभयो ।
गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको अनुभव सुनाउनुभयो ।
सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष निर्मल सापकोटाले स्वागत गर्नुभएको थियो ।















