काठमाडौं । अभिनय र मोडलिङपछि पल शाह समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँले सामाजिक संस्था ‘हामी छौं फाउन्डेसन’ स्थापना गर्नुभएको छ ।
उहाँले हालै सामाजिक संस्था ‘हामी छौं फाउन्डेसन’ स्थापना गर्दै दुर्गम र सेवा–सुविधाबाट पछाडि परेका क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा समुदायमुखी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गर्नुभएको छ ।
फाउन्डेसनले हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजनाको योजना अघि सारेको छ भने आर्थिक रूपले कमजोर तथा बञ्चित परिवारका बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । साथै विपद् व्यवस्थापनमा तत्काल राहत तथा सहयोग पुयाउन संस्था सक्रिय रहनेछ ।
शनिबार फाउन्डेसनको औपचारिक घोषणा गर्दै संस्थाले पहिलो कार्यक्रमस्वरूप शंखमुलस्थित सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर सम्पन्न र्गयो ।
पल शाहका अनुसार काठमाडौं आइएसँगै समाजसेवामा योगदान गर्ने उहाँहरूको चाहना रहेको थियो । ‘५–७ वर्षअघि नै फाउन्डेसन सुरु गर्ने सोच बनाएको थिएँ। विभिन्न कारणले ढिला भयो। यसपालि वर्षौंदेखिको सपना पूरा भएको छ,’ उहाँले भन्नुभयो ।
घोषणा समारोहमा शाहले संगीतका १५ विद्यार्थीलाई एक वर्षका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा पनि गर्नुका साथै आगामी दिनमा सरकारको पहुँच कम रहेको दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा लिएर जाने लक्ष्यसमेत साझा गर्नुभयो ।
शाहले आफ्नो प्रत्येक फिल्मबाट प्राप्त पारिश्रमिकको १० प्रतिशत फाउन्डेसनमार्फत समाजसेवामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हालै रिलिज भएको उहाँको फिल्म ‘मोहर’ सफल भएको थियो ।













