ठकुरी युवा परिवार कास्कीको ‘अवचेतन मन र नेतृत्व विकास’ तालिम पोखरामा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर १४ । ठकुरी युवा परिवार कास्कीद्वारा आयोजना गरिएको ‘अवचेतन मनको शक्ति र नेतृत्व विकास’ विषयक विशेष प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ ।

युवाको क्षमता अभिवृद्धि र नेतृत्वशीलता विकास गर्ने उद्देश्यले गरिएको उक्त तालिमले सहभागीहरूमा अत्यन्त उत्साहजनक प्रभाव पारेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा ठकुरी समाज महासंघ, नेपालका अध्यक्ष खिम बहादुर शाही लक्ष्मणले युवालाई सक्षम, सजग र परिवर्तनकारी शक्ति बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवा पुस्ताले साझा लक्ष्यसहित अघि बढ्न सके समाज रूपान्तरणको गति अझ तीव्र हुन्छ ।’ उहाँले आगामी दिनमा पनि यस्ता तालिमको निरन्तरतामा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक सामाजिक मनोविज्ञ डा. दलिप कुमार मल्लले अवचेतन मनको शक्ति, सकारात्मक सोच, आत्मा अनुशासन र नेतृत्व क्षमताको गहिरो प्रभावबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो ।

५० जना भन्दा बढी सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा हालसम्म ६९ वटा यस्ता तालिम सञ्चालन गरेका डा. मल्लले आफ्नो अनुभव सुनाउँदै सामाजिक रूपान्तरणमा युवा पुस्ताको अग्रणी भूमिकाको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘समाज बदल्नुभन्दा पहिले आफू बदलिनु जरुरी भएको र त्यो परिवर्तन अवचेतन मनबाटै शुरू हुन्छ ।’

यस्तै ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालले युवालाई लक्षित कार्यक्रमले आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास र नेतृत्व क्षमताको विस्तारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सहभागीहरूको सक्रियता र उत्साहप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

यसै क्रममा सल्लाहकार दुर्गा शाह ‘बाबा’, टुक बहादुर मल्ल, अनिल कुमार शाही, सन्तोष शाही लगायतका अतिथिहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै युवालाई निरन्तर यस्ता ज्ञानमूलक गतिविधिमा सहभागी बन्न आग्रह गरे।

त्यस्तै कार्यक्रमका उपाध्यक्ष ज्योति हमालले सबै अतिथि, सहभागी र सहयोगीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको भूमिका सराहनीय रहेको बताउनुभयो ।

सचिव मोहन शाहीले युवाहरूको उत्साहपूर्ण उपस्थिति, सकारात्मक उर्जा र प्रेरणादायी प्रशिक्षणका कारण कार्यक्रम अझ प्रभावकारी र सफल बनेको बताउनुभयो ।

ठकुरी युवा परिवार कास्कीले आगामी दिनमा पनि युवालाई केन्द्रमा राखेर नेतृत्व, सीप विकास र व्यक्तिगत रूपान्तरणमा केन्द्रित कार्यक्रम जारी राख्ने जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला