छैटौँ यःमरी महोत्सव शनिबार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा छैटौँ संस्करणको यःमरी महोत्सव हुने भएको छ । नेवारी समुदायको मौलिक खानाको पहिचान बनेको योमरीको प्रवद्र्धन गर्ने लक्ष्यसहित पोखरा महानगरपालिका वडा नं. ४ को आयोजनामा यो महोत्सव हुने भएको हो ।

पोखराको सबैभन्दा पुरानो बजार गणेश टोल क्षेत्रमा नेवाः मिसा पुचः कास्कीको सहकार्यमा शनिबार महोत्सव हुन लागेको वडा अध्यक्ष देवकृष्ण पराजुलीले बताउनुभयो ।

यस महोत्सवमा नेवारी परिकारका ६ वटा स्टलबाट यःमरीसँगै विभिन्न नेवारी खानाका परिकारहरु प्रदर्शनी तथा बिक्री हुनेछन् ।

यससँगै महोत्सवमा विद्यार्थी नृत्य, सांस्कृतिक झाँकी, ब्यान्ड प्रस्तुति र यःमरी बनाउने प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहने अध्यक्ष पराजुलीले बताउनुभयो ।

यस्तै नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यका अनुसार यःमरीको अर्थ नेपाली भाषामा ‘मनपर्ने रोटी’ भन्ने बुझाउँछ ।
उहाँले विषेशगरी नयाँ धानको चामलबाट तयार गरिने यःमरीभित्र चाकु, खुवा, गुँद, मास जस्ता सामग्री हालेर बनाइने यस परम्परागत परिकार अति मिठो र पोषणयुक्त हुने बताउनुभयो ।

उहाँले यससँगै यःमरी नेवार समुदायको सांस्कृतिक पहिचान, धार्मिक आस्था र परम्पराको जीवित प्रतीक भएकाले यसको संरक्षण अनिवार्य बनेको बताउनुभयो ।

मार्गशीर्ष शुक्ल पूर्णिमाको पावन दिन नयाँ धानलाई कुटेर बनाएको पिठोबाट यःमरी बनाई त्यसलाई पूजा गरे घरमा कहिल्यै अन्नको कमी हुँदैन भन्ने गहिरो जनविश्वास रहेको बज्राचार्यले जानकारी दिनुभयो ।

यस्ता मौलिक संस्कृतिहरूलाई पुस्तान्तरण गर्दै जोगाइराख्न आजको युवापुस्ता सक्रिय रूपमा अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

यस महोत्सवमा हुने यःमरी बनाउने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेको समेत आयोजकले जनाएको छ ।

त्यस्तै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले योमरी महोत्सवलाई परम्परा मात्रै नभई पहिचानसँग जोडिएको अभियानका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “नेवारी खाना पनि सबै समुदायको साझा खाना बन्नुपर्छ । “पहिले मःम सीमित समुदायको परिकार थियो, आज सबैको प्रिय बनेको छ । अब नेवारी खानालाई पनि त्यही स्तरमा र्पुयाउनु आवश्यक छ ।”

मंसिर १३ गते शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्ने यो महोत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार यस महोत्सवले यःमरीको सुगन्धसँगै परम्परा, पहिचान र नयाँ पुस्ताबीचको सेतु निर्माण गर्ने विश्वास गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला