मंसिर १०, पोखरा । ३४ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक–२०८२ हुँदैछ ।
मंसिर १७ देखि २१ गतेसम्म नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा हुने उक्त मेलाबारे पोखरा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
यस पटक मेलाको मुख्य सहयात्रीको रूपमा नेपाल मणिपाल अस्पताल रहेको छ। मेलामा उद्योग, व्यापार र सूचना–प्रविधिको सहजता एकै ठाउँमा पोखराबासीले पाउने भएका छन्।
परम्परागत मेला र जात्रालाई परिमार्जन गर्दै संघले नेपालमै पहिलोपटक २०४२ सालमा मेलाको आयोजना गरेको थियो । त्यसलाई २०४९ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाम दिइयो भने २०५२ सालमा पोखरा महोत्सवको रूपमा आयोजना भएको थियो।
त्यसयता संघले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ अन्य संघ संस्थाहरुसँग समन्वय गर्दै हस्तकला मेला–२०५३, पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला – २०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा– २०६२, महिला उद्यमी मेला २०६८, २०७० र २०७४,२०७६ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि २०७६ आयोजना हुँदै आइरहेको छ ।
तर कोभिडले रोकिएको मेलालाई संघले २०७९ साल देखि पुनः निरन्तरता दिँदै आइरहेको छ ।
विषेशगरी मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना, पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ र्पुयाउने उद्देश्यका आयोजना गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो ।
चार दशकअघि पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको नमुना शहर बनाउने सपना बोकेको स्मरण गर्दै अध्यक्ष कार्कीले भन्नुभयो,“पोखराको हावापानी र भौगोलिक सुन्दरता स्वास्थ्य पर्यटनका लागि वरदान हो ।
आधुनिक उपचारदेखि योग, आयुर्वेद र ध्यानको केन्द्रका रूपमा पोखरा उभिँदै जाँदा विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा ठूलो फड्को मार्न सकिन्छ।”यही दृष्टिकोणका साथ यो यात्रामा आधुनिक मेडिकल प्रविधि बोकेको नेपाल मणिपाल अस्पताल मुख्य सहयात्री बन्नु महत्वपूर्ण मोड हो।”
यस्तै उहाँले ‘लगानीको सम्वद्र्धन, उद्योग–व्यवसायको प्रवद्र्धन’ मेलाको नारामात्र नभई, लक्ष्य पनि भएको बताउँदै मेलामा स्वदेशी उत्पादनको बजार पहिचानदेखि पर्यटन प्रवद्र्धन, कृषिजन्य उत्पादनको व्यापारिकरण, सूचना प्रविधिमा नवप्रवर्तन, उपभोक्ता–उत्पादक प्रत्यक्ष संवाद जस्ता दर्जनौँ उद्देश्य बोकेर अघि बढेको स्पष्ट पार्नुभयो ।
यस वर्ष मेलालाई मनोरञ्जन भन्दा पनि उद्यमशिलता विकासको थलो बनाउने उद्देश्यले मेला सञ्चालन ५ दिन मात्र हुने आयोजकले जनाएको छ ।
यसपटक साइबर सुरक्षा र नयाँ टेक्नोलोजी मेलाको आकर्षणको रूपमा रहने क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिनुभयो ।
उहाँले क्यान इन्फोटेकमार्फत् नयाँ–नयाँ प्रविधि प्रदर्शन, डिजिटल साक्षरता तथा साइबर सुरक्षाबारे सचेतना कार्यक्रम जस्ता प्रमुख आकर्षणको रूपमा रहने बताउनुभयो ।














