पच्चीसौँ आहा रारा पोखरा गोल्डकप माघ २७ देखि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर ८ । पच्चीसौँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघमा आयोजना हुने भएको छ ।

आयोजक सहारा क्लब पोखराले आज ( सोमबार) पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घबाट माघ २७ देखि फागुन ९ गतेसम्मको समय तालिका प्राप्त भएको जानकारी दिएको छ ।
राष्ट्रिय/अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त प्रतियोगिताको तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । उहाँले प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिने जनाउदै प्रतियोगितामा सहभागी हुने टोलीको संख्या अझै टुङ्गो नलागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यस प्रतियोगिताले फुटबलका माध्यमबाट पोखरालाई चिनाउने काम गरेका बताउनुभयो । फुटबलको विकासका लागि पोखरा महानगरपालिका सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्ड कपसँगको सहकार्य निरन्तर रहने बताउनुभयो ।

प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका, विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र उप–प्रायोजकमा पोखरा महानगरपालिका–९ कार्यालय रहेको छ ।
गत वर्ष भएको २४औँ संस्करणको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।

पत्रकार सम्मेलनमा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गरेको थियो ।
उक्त कार्यक्रमबाट रु २४ लाख १९ हजार सङ्कलन भएकामा रु छ लाख ७७ हजार खर्च भई रु १७ लाख ४१ हजार बचत भएको क्लबले जनाएको छ ।

क्लबका महासचिव गङ्गाराम पौडेलले बचत भएको रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च हुने जानकारी दिनुभयो । ऐेकेडेमीमा १६ जिल्लाका ३० किशोरले आवासीय सुविधासहित फुटबल सिकिरहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला