पोखरा, मंसिर ७ । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै जारी गरिएको मतदाता नामावली दर्ताको समयावधि शुक्रबार समाप्त भएको छ ।
प्रारम्भिक योजना अनुसार दर्ता कात्तिक मसान्तमै बन्द गर्ने तयारी भएपनि नयाँ मतदाताको चाप बढेपछि निर्वाचन आयोगले पाँच दिन म्याद थप गरी मंसिर ५ गतेसम्म दर्ता खुला गरेको थियो ।
कास्कीमा समेत यसपटक मतदाता नामावलीमा नाम दर्ताको लागि नागरिकको उत्साह अत्याधिक देखिएको थियो ।
यही चापलाई ध्यानमा राख्दै प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशले कार्यालय समय बढाउनेदेखि लिएर अतिरिक्त कर्मचारी परिचालन तथा अनलाइन प्रणाली सुदृढ बनाएर सेवा प्रभावकारी बनाएको थियो ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले समेत मतदाता नामावली दर्ताप्रति नागरिकको उत्साह विगतका वर्षभन्दा धेरै बढेको बताउनुभयो ।
उहाँका अनुसार असोज १० गतेबाट सुरु भएको दर्ता अभियान मंसिर ५ गतेसम्म सञ्चालन हुँदा कास्कीमा मात्र १७ हजार ८ सय २१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यसमा अनलाइन फारम भरी कार्यालयमा आएर दर्ता गर्नेको संख्या ९ हजार ६ सय ९७ जना छन् । जसमा पुरुष ५ हजार ४ सय ४८, महिला २ हजार ४ सय ४८ र अन्य १ जना छन् ।
यस्तै राष्ट्रिय परिचय पत्रमार्फत घरमै बसेर दर्ता गर्नेको संख्या ८ हजार १ सय २४ जना छन् । यसमा महिला, पुरुष र अन्यको संख्या भने नछुट्याइएको र यो छुट्याउन एक हप्ता लाग्ने बताइएको छ।
योसँगै त्रुटि सच्याउन निवेदन दिनेको संख्या ३ सय ८० जना र एउटा स्थानबाट अर्को स्थानमा सार्न निवेदन दिने ८ सय ७५ रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै नयाँ दर्तासँगै कास्कीमा अब कुल मतदाताको संख्या ३ लाख ११ हजार ७ सय ५६ पुगेको छ । यसअघि कास्कीमा महिला १ लाख ५३ हजार ४ सय ६८, पुरुष १ लाख ४० हजार ६ सय ७ र अन्य ४ गरी कुल २ लाख ९४ हजार १ सय ५१ मतदाता थिए ।
पहिलेको तुलनामा कास्कीमा मतदाता संख्या झण्डै १८ हजारले बढेपछि आगामी चुनावमा मतदान प्रतिशत ऐतिहासिक रूपमा उक्लिने अनुमान चुनावी विश्लेषकहरूले गरिरहेका छन्।
सबैभन्दा रोचक पक्ष, यस वर्ष दर्ता भएका नयाँ मतदातामध्ये झण्डै ८० प्रतिशत जेनजी उमेर समूहका छन् भने बाँकी २० प्रतिशत अन्य उमेर समूहका मतदाता छन्।
यो तथ्यांकले कास्कीमा युवाहरूको राजनीतिक चेतना तीव्र रूपमा उक्लिएको स्पष्ट देखाएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
विषेशगरी यस जिल्लामा मतदाता दर्ताको यो तरंगले आगामी प्रतिनिधिसभा चुनावलाई अझ रोचक बनाउने अनुमान गरिएको छ ।
नयाँ मतदाता त्यसमाथि पनि युवाहरुको उत्साहले अबको चुनावले कास्कीमा राजनीतिक प्रतिस्पर्धा, मतप्रवाह र समग्र जनसहभागिताका दृष्टिले नयाँ उचाइमा पुग्ने स्पष्ट संकेत दिएको छ ।














