मंसिर ९ देखि पोखरामा हुने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा १६ टिमको भिडन्त

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर ७ । पोखरा भलिबल प्रशिक्षण केन्द्र(पिभिटिसी)नदीपुरको आयोजना तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यहि मंसिर ९ देखि १३ गतेसम्म पोखरा ३, नदिपुरस्थित भलिबल प्रशिक्षण केन्द्र (छन्त्याल समाज)मा सञ्चालन हुने आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

प्रशिक्षण केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालले केन्द्रको नवौं वार्षिकोत्सव भदौ महिनामा भएतापनि जेनजी आन्दोलनका कारण हुन नसकेको बताउँदै अहिले वातावरण अलि शान्त भएकोले प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।

यसै अवसरमा क्लब स्तरीय पुरुष/महिला भलिबल प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रम समेत हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरूषतर्फ ८ र महिलातर्फ ८ गरी कुल १६ टिमको सहभागिता हुने खेल संयोजक मनोज खड्काले बताउनुभयो ।

उहाँका अनुसार पुरुषतर्फ गल्कोटका २ टिमसँगै एपिएफ पोखरा, घान्द्रुक क्रोमचे यूवा समिति, स्याङजा, माछापुच्छ्रे र तनहुँका स्थानिय क्लबहरुसँगै आयोजकको टिमले सहभागिता जनाउने छन् ।

त्यस्तै महिलातर्फ पोखरा लामाचौरका दुई टिमसँगै इलाइट भलिबल प्रशिक्षण केन्द्र, शान्ता मा.वि, स्याङजा वालिङ, बाग्लुङ र माछापुच्छ्रेका स्थानिय क्लबहरु तथा आयोजकको एक टिम गरी ८ टिमको सहभागिता हुनेछ ।

यस प्रतियोगिताका रेफ्रि डेलिगेट तथा अन्तर्राष्ट्रिय एभिसी रेफ्रि टहल सिंह थापाले पुरुषतर्फको खेल लिग कम नकआउट र महिलातर्फ नकआउटका आधार सञ्चालन हुने जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरूषतर्फ उपाधि विजेता टिमले नगद रु १ लाख ५० हजार र उप(विजेताले १ लाख तथा महिला तर्फ विजेताले नगद ६० हजार तथा उपविजेताले नगद रु ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै गरी उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, प्रशिक्षक र उदियमान खेलाडीहरुलाई ट्रफी तथा प्रमाण(पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउने टिमले सिनियर राष्ट्रिय खेलाडी तीनजनालाई समावेश गर्न पाइने गरी प्रावधान राखेको छ ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च लाग्ने छ । गत वर्ष सम्पन्न ८औं संस्करणमा पुरुषतर्फ गल्कोट भलिबल टिम र महिलातर्फ धादिङ स्पोर्टस क्लब विजेता बनेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला