एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर ६ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ ।
रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटन, एवन ग्रेटर नेपाल यातायात प्रालि, बालकल्याण संस्था, शितलाज्योति युवा क्लव पोखरा–१२, टिम महादेव गुरुङ, ईम्पावर हेल्थ केयर प्रालिलगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा माछापुच्छ«े–३ घाचोकका दुर्गाप्रसाद घोरासैनीले ५९ औं पटक, पोखरा नयाबजारका शम्भुलाल श्रेष्ठले ५५ औं पटक, पोखरा–१४ का राजेश तण्डुकारले ५४ औं पटक, पोखरा लेकसाईडका बिजयकुमार प्रधानले ४४ औं पटक, नागरिक समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले ४१ औं पटक, पोखरा १ बगरका अनिल शाक्यले ४१ औं पटक, पोखरा—४ का लोकेन्द्रदीप शाक्यले ४० औं पटक, पोखरा–१५ का सुजन प्रधानले ३९ औं पटक, पोखरा–८ का निश्चल खरेलले ३८ औं पटक, भारत घर भई पोखरा बस्ने मुन्नाकुमार ठाकुरले ३७ औं पटक, पोखरा–१७ विरौटाका विक्रम रानाभाट र खिमराज आचार्यले ३६ औं पटक रक्तदान गरेका थिए ।

यसअघि रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा उहाँले रक्तदान गरेर जीवन बचाउन सकिने बताउनुभयो ।

रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदान गर्नेलाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने बताउनुभयो । एभरेस्ट मिडिया हाउसले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले एभरेस्ट मिडियाको प्रशंसा गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले रक्तदान सबैभन्दा पूण्य काम भएको बताउनुभयो । उहाँले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताउनुभयो ।

एभरेस्ट मिडिया हाउसका प्रमुख÷सम्पादक दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले प्रष्ट्याउनुभयो । उहाँले रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला