काठमाडौं । सिनियर विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको काइरो जाने भएको छ ।
नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
नेपालबाट एरिका गुरुङ ६८ केजीमाथिको कुमितेमा प्रतिस्पर्धा गर्नुहुनेछ भने सानुमाया थिङ एकल कातामा सहभागी हुनुहुनेछ ।
यस प्रतियोगितामा नेपालले पहिलो पटक सहभागी हुने अवसर प्राप्त गरेको हो । २ सय १ राष्ट्रहरू मध्येबाट प्रत्येक बिधामा मात्र ३२ खेलाडी छनोट हुने यस प्रतिष्ठित प्रतियोगितामा यी दुई खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै छन् ।
प्रशिक्षकहरू कुशल श्रेष्ठ र माण्डे काजी श्रेष्ठ हुनुहुन्छ भने टिम व्यवस्थापन रवि महर्जनले गर्नुहुनेछ ।
यस्तै अफिसियल टोलीमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कोषाध्यक्ष कृष्णप्रसाद गौतम हुनुहुन्छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले एक समारोहमार्फत टोलीलाई विदाई गर्नुभयो ।
घिसिङले अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्षमता देखाउने अवसरका रूपमा यो प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो ।














