चलचित्र अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । चलचित्र विकास बोर्डले २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

फिल्म अध्ययन, अनुसन्धान तथा प्राज्ञिक प्रगतिको लागि नियमित रूपमा बोर्डले सञ्चालन गर्दै आएको यो कार्यक्रमअन्तर्गत यसवर्ष छात्रवृत्ति बाँडिएको हो ।
यसवर्ष माध्यमिक तहमा चलचित्र विषय लिएका विद्यार्थीलाई वार्षिक १५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

विद्यालय तहमै फिल्म–सम्बन्धी अध्ययनलाई प्रोत्साहित गर्न बोर्डले विगत केही वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ, जसले युवालाई प्रारम्भिक उमेरमै चलचित्र शिक्षाप्रति आकर्षित गर्न मद्दत गरेको छ ।
खुला, महिला र समावेशी (मधेसी, दलित, आदिवासी, जनजाति) समूह समेटिनेगरी वितरण गरिएको यो सहयोगले फिल्म शिक्षामा पहुँच विस्तार र विविध समुदायका प्रतिभालाई अघि बढाउने लक्ष्यलाई सुदृढ गरेको बोर्डले जनाएको छ ।

स्नातक तहमा चलचित्र सम्बन्धी विषय लिएर अध्ययनरत विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।

स्नातकोत्तर तहमा चलचित्रसम्बन्धी अनुसन्धान गरिरहेका विद्यार्थीलाई २५ हजार रुपैयाँका दरले शोध अनुदान प्रदान गरिएको छ ।

चलचित्रका सामाजिक, सांस्कृतिक, सौन्दर्यशास्त्रीय तथा नीतिगत पक्षमा आधारित अनुसन्धानलाई प्रोत्साहन दिन यसले महत्वपूर्ण उत्प्रेरणा दिएको बोर्डले जनाएको छ ।

स्नातकोत्तर तहमै चलचित्र ऐन–नियम, नीतिगत अध्ययन तथा शोधपत्र लेखन गर्दै आएका विद्यार्थीलाई समेत २५ हजार रुपैयाँको छात्रवृत्ति दिइएको छ ।

बोर्डका अनुसार, फिल्म उद्योगको दिगो विकास शिक्षा, अनुसन्धान र समावेशी प्रतिभा विकास मार्फत सम्भव हुने भएकोले बोर्डले यसलाई दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाइरहेको जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला