पोखरा, मंसिर १ । आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा राष्ट्रिय कर दिवस २०८२ सम्पन्न भएको छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।
राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आयोजित कार्याक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजि क्षेत्र भएकोले निजि क्षेत्रलाई प्रोत्साहन गर्दै करमैत्री वातावारण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले निजि क्षेत्रलाई व्यवसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले सेवा प्रवाहलाई थप सहज र प्रविधीमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताउनुभयो ।
उहाँले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी करदातालाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगाएतका व्यवसायीक संघ संगठनका प्रतिनिधीहरूले व्यवसायीहरूको मनोबल उठाउने गरी निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आर के डी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रा।लि लाई सम्मान गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्त सम्म व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ रहेको छ । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन् ।
पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरेको छ । जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख राजस्व संकलन गरेको छ ।
यस्तै मूल्य अभिवृद्धि कर तर्फ ५२ करोड २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ । अन्तः शुल्क तर्फ १२ करोड ७१ लाख रूपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयले विलाशिता शुल्क वापत ३ करोड ७८ लाख राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले गत वर्षको सोही अवधीको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार संकलन गरेको थियो ।














