क्यानलाई कीर्तिपुर रंगशाला हस्तान्तरण

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, मंसिर १ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला औपचारिक रूपमा नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत क्यानलाई दीर्घकालीन व्यवस्थापन र सञ्चालनका जिम्मेवारीसहित रंगशाला हस्तान्तरण गरेसँगै नेपाली क्रिकेटको पूर्वाधार विकासमा नयाँ मोड आएको छ ।
आइतबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजित एक विशेष समारोहमा सहरी विकास मन्त्री कुलमान घिसिङले राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई रंगशाला हस्तान्तरण गर्नुभएको थियो ।

समारोहमा मन्त्री घिसिङले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै अब पूर्वाधार विस्तार र स्तरोन्नतिमा सरकार र क्यानबीच सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

“कीर्तिपुरको अन्तर्राष्ट्रियस्तरको मैदान अब क्यानकै व्यवस्थापनमा आएपछि खेल प्रतियोगिता, प्रशिक्षण र आयोजनामा अझ प्रभावकारिता बढ्ने विश्वास लिएका छौँ,” मन्त्री घिसिङले भन्नुभयो ।

राखेप सदस्य–सचिव टंकलाल घिसिङले पनि सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै खेलकुद पूर्वाधारलाई दिगो निर्माण र विकास गर्ने परिषद्को लक्ष्य रहेको बताउनुभयो ।

त्यस्तै क्यान अध्यक्ष चतुरबहादुर चन्दले सरकार र राखेपलाई धन्यवाद व्यक्त गर्दै कीर्तिपुर रंगशालालाई अझ व्यवस्थित, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उन्नत बनाउन क्यान प्रतिबद्ध रहेको बताउनुभयो ।

“क्यानले अब खेलाडी तयारी, घरेलु लिगको विस्तार, महिला तथा उमेर समूह क्रिकेटका प्रतियोगितालाई अझ सक्रिय बनाउनेछ,” चन्दले भन्नुभयो ।

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यसअघि सरकार अन्तर्गत राखेपको व्यवस्थापनमा थियो ।

हस्तान्तरणपछि मैदानको सञ्चालन, मर्मत–सम्भार, प्रतियोगिता आयोजना तथा दीर्घकालीन योजनाको जिम्मेवारी अब क्यानले गर्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला