पोखराको घार्मीमा बालाचतुर्दशी पर्व धार्मिक मेलाको रूपमा मनाइने

नगेन न्यूज
  • ख-
  • ख+

पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ ।
पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो ।
यही मंसिर ३ गते परेको पर्वलाई केन्द्रीत गरी मन्दिर परिषरमा सरसफाई गरी बिभिन्न ध्वजापताका र तोरणले सजाउने कार्य शुरु गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

स्थानीय व्यक्तिको घरबाट विधिपूर्वक पूजाआजा गरि निकालिने फुलको डोली बाजागाजा र भजनकिर्तनसहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याउने प्रचलन छ।फुलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ ।
चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्धार हुने धार्मिक मान्यता छ । सो धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९, भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजनकिर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन समेत दिने बताईएको छ ।

स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापनको तयारी समेत गरेका छन् ।त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन पुग्ने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताउनुभयो ।
स्थानीय प्रेम बहादुर जिसीका अनुसार अघिल्ला वर्षहरुमा मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लाग्ने गरेको थियो ।
पछिल्लो समयमा विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
मन्दिर परिसरमा नै रहेको घार्मी भ्यु टावरले त्यहाँ थप आकर्षण थपेको छ । पोखराको दृश्यसहित मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापनादेखि नै बालाचतुर्दशी तथा महाशिवरात्री पर्व विशेष रूपमा मनाउने गरिन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला