काठमाडौँ । कवि तथा बौद्ध धर्मका योगी ‘मिलारेपा’ को जीवनमा आधारित कथा मङ्गलबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।
परिकल्पना र निर्देशक बुद्धि तामाङ र उमेश तामाङले गर्नुभएको नाटक बौद्ध धर्मसँग सम्बन्धित रहेको छ ।
लेखक चाङ ङ्योन हेरुकको कृतिमा आधारित र रविन तामाङले नाट्य रूपान्तरण गरेको ‘मिलारेपा’ ले पाप, पश्चात्ताप र आत्मज्ञानको आध्यात्मिक रूपान्तरणलाई नाटकीय रूपमा चित्रण गरेको निर्देशक तामाङले बताउनुभयो ।
उहाँले ११ औँ शताब्दीका कवि तथा योगी मिलारेपा रसुवाको केरुङनजिकै जन्मिनुभएको बताउनुभयो । तामाङका अनुसार मिलारेपाले नेपालको गोरखा, सिन्धुपाल्चोक, मनाङ र मुस्ताङमा लामो समय तपस्या गर्नुभएको थियो ।
निर्देशक तामाङका अनुसार यो नाटक केवल बौद्ध धर्मको कथा होइन, यो सबैका लागि आत्मबोध र सत्यको बाटो रोज्ने प्रेरणा हो ।
२४ जना कलाकारको सहभागिता रहेको यस नाटकमा तामाङ समुदायका साथै अन्य विभिन्न पृष्ठभूमिका कलाकारको समेत अभिनय देख्न सकिन्छ । नाटकमा सङ्गीत आदित्य कटुवालको छ । नृत्य संयोजन मनीषा गोले र मणि के राईले गर्नुभएको छ ।
शीर्ष भूमिका मिलारेपाको भूमिकामा रुपेश लामाले अभिनय गर्नुभएको छ । साथै रमिला मोक्तान, विकास लामा, सानुमाया तामाङ, रस्मिला तामाङ, रिया लामा, विजय तामाङ, बलबहादुर राई, निलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुष्कर कार्की, विश्व स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदीप खतिवडा, विजय ट्युबा, रत्न मंगल, टासी लामा, अजय लामा, पवन कुमार गोले र सबिता तामाङको अभिनय छ ।
‘मिलारेपा’ कात्तिक १८ गतेदेखि मङ्सिर २१ गतेसम्म हरेक दिन (सोमबारबाहेक) साँझ ५ः ३० बजे र शनिबार दिउँसो १ बजे मण्डला थिएटरमा सर्वसाधारणका लागि मञ्चन हुँदै छ । नाटकको अवधि १ घण्टा ४५ मिनेट रहेको छ ।














