पोखरा । पोखरा १६ मा रहेको पर्यटकीय गाउँ कुरेचौरमा वातावरण संरक्षण एवम् सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन भएको छ ।
स्वाभिमान टोल विकास संस्था कुरेचौरका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यले डष्टविनमा फोहर सङ्कलन गरेर सफाइ अभियानको शुभारम्भ गर्नु भयो १ सो अवसरमा सफाइ अभियानलाई साथ दिदै गाउँदेखि मुल सडक, डाँडाका चौतारोसम्म सरसफाई गरिएको थियो ।
सरसफाई पछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले घर, छिमेक र गाउँको वातावरण सफा गर्न सम्पूर्ण गाउँबासी र यस क्षेत्रका नागरिक निरन्तर रुपमा लाग्नुपर्ने बताउनु भयो । आचार्यले गाउँ तथा वरपरको वातावरण सफा राख्न यस क्षेत्रमा घुम्न आउने आगन्तुकहरुको पनि जिम्मेवारी रहेको बताउदै आगन्तुकहरुलाई जथाभावी फोहर नगरिदिनुहुन अनुरोध गर्नुभयो ।
टेन्जिङ एण्ड डोल्मा नेपालको विशेष सहयोगमा आयोजित सो कार्यक्रममा बोल्दै वडा सदस्य मन्जु नेपालीले गाउँको वातावरण सफा र मनोरम रहेको बताउँदै वातावरणलाई सदैव स्वच्छ राख्न यस क्षेत्रकै नागरिकको मूल भूमिका रहने बताउनु भयो ।
त्यस्तै स्वाभीमान टोल विकास संस्थाका पूर्व अध्यक्ष होमनाथ आचार्य, समाजसेवी एवम् शुक्ला साहित्य प्रतिष्ठानका सचिव रामप्रसाद पौडेल लगायतले सफाई अभियान सफल पार्न आगन्तुक पर्यटक सहित छिमेकी गाउँ सहितको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
कार्यक्रममा पोखरा महानगर वातावरण महाशाखाका अधिकृत इन्जिनियर निर्मल भण्डारीले प्लाष्टिकले मानवीय जीवन, वातावरण प्रदुषण र जैविक धरातलमा पारेको असर , प्लाष्टिक प्रयोगमा न्युनिकरण र व्यवस्थापन पक्षमा प्रशिक्षण दिनु भयो ।
त्यस्तै कार्यक्रममा फोहोर व्यवस्थापनका लागि डष्टविन ,कुचो लगायतका फोहर व्यवस्थापनका सामाग्रीहरु वितरण गरिएको थियो ।
स्वास्थ्यकर्मी श्याम सुन्दर आचार्यको संयोजकत्वमा आयोजित सो कार्यक्रममा कुलदिप महिला विकास संस्थाका सचिव आरती सुवेदी आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन स्वाभीमान टोल विकास संस्थाका सदस्य बोधराज आचार्यले गर्नु भएको थियो ।